काठमाडौं । नेपाल-चीन बीच व्यापार गर्ने १४ वटा नाका छन् । तीमध्ये अधिकांश नाका सीमावर्ती जिल्लाका बासिन्दाका लागि सीमित समय मात्र खुल्छन् । नियमित रूपमा व्यापार गर्ने मुख्य नाका रसुवागढी र तातोपानी मात्रै हुन् । यिनको विकल्पमा गत भदाै अन्तिमदेखि कोरला नाका संचालनमा ल्याइए पनि भरपर्दो र सहज छैन ।
प्रमुख नाका रसुवागढी गत असार २४ गतेदेखि बन्द छ । ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएपछि साढे ५ महिनादेखि ठप्प छ । उक्त स्थानमा बेलिब्रिज निर्माण भइसके पनि संचालनमा ल्याइएको छैन ।
वर्षायाममा तातोपानी र रसुवा दुवै नाका बन्द भएपछि विकल्पमा भदाै अन्तिमदेखि कोरला नाका संचालनमा ल्याइएको थियो । लामो दूरी, असहजताका बाबजूद दशैंतिहारमा मालसामान, ईभी गाडी त्यहीँबाट ल्याइयो । अहिले चिसो बढेसँगै उक्त नाकाबाट पनि सामान आयात न्यून भएको छ ।
अहिले चीनसँग व्यापार गर्न एक मात्र तातोपानी नाका संचालनमा छ । तर, चीनको अघोषित नाकाबन्दीले सामान आयात प्रभावित भएको छ । चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले आफ्नो अर्डर अनुसारको सामान ल्याउन नपाएका हुन् ।
चीनले नेपाली व्यवसायीले खरिद गरेको सामान न्यालमसम्म ल्याउन दिए पनि त्यहाँबाट तातोपानीतर्फ पठाउन अस्वभाविक कडाइ गरेकाे हो । चिनियाँ पक्षले खासा बजार र तिब्बतका विभिन्न ठाउँमा पूर्वाधर निर्माण भइरहेको कारण देखाउँदै कडाइ गरेको हो ।
वर्षायाममा बाढिपहिरोका कारण अधिकांश समय बन्द रहेको अरनिको राजमार्ग अहिले संचालनमा छ । तर, चिनियाँ अवरोधका कारण व्यवसायीले तातोपानी हुँदै आवश्यकता अनुसारको सामान ल्याउन नसकेका हुन् ।
चिनियाँ पक्षले ढुवानीका कन्टेनर नछाड्दा तीज, दशैं, तिहार चाडपर्वका लागि अर्डर गरेका समान अझै आइनपुगेको व्यवसायीहरू बताउँछन् । लत्ताकपडा, स्टेसनरी, इलेक्ट्रोनिक्स, स्पोर्टस लगायत सामान अड्किएका छन् । फलफूल, विद्युतीय सवारी साधन भने नियमित नै आइरहेका छन् ।
नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले ५ महिना अघि अर्डर गरिएको सामान अझै ल्याउन नसकिएको बताए । उनले वर्षायाम बाढिपहिरो र पछिल्लो समय चीनको कडाइका कारण समान आयातमा समस्या भएको बताए ।
‘तातोपानी हुँदै ल्याउन तीज अघि अर्डर गरेको सामान अझै आयात हुन सकेको छैन । वर्षायाम बाढिपहिरोले सडक खुल्न सकेन । पछिल्लो समय चिनियाँ पक्षले अनेक बाहाना बनाउँदै कन्टेनर छाडेको छैन । समयमै सामान ल्याउन नसक्दा व्यवसायी ठूलो मारमा परेका छन्,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार सामान्य अवस्थामा चीनबाट तातोपानी नाका हुँदै दैनिक ३५-४० कन्टेनर भित्रिने गरेका थिए । तर, अहिले मुस्किलले १०/१५ वटा मात्रै आउने गरेको उनले बताए । ‘विगतमा तातोपानी नाका हुँदै दैनिक ३५ देखि ४५ कन्टेर आउँथे । तर, दैनिक ५/१० वटा मात्रै कन्टेनर मात्र छोड्ने गरेको छ,’ उनले भने ।
अहिले नेपाली व्यवसायीले अर्डर गरेको ८००/९०० कन्टेनर सामान चीनतर्फ अड्किएको उनले बताए । चीनको ल्हासा, न्यालम, केरुङलगायत सहरमा नेपाली व्यवसायीको सामान अलपत्र रहेको उनले बताए । एकीन तथ्यांक नभए पनि व्यवसायीको १० अर्ब बढीको सामान रोकिएको हो । पटक पटक सडक अवरोध र चीनको कडाइका कारण फलफूल, लसुन लगायत सामान कुहिँदा व्यवसायीले करोडौं नोक्सानी व्यर्होन बाध्य भएको उनले बताए ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल व्यवसायीको मागअनुसार सामान आयात हुन नसकेको बताउँछन् । विगतमा दैनिक औसतमा ३५ कन्टेनर सामान बन्दरगाहमा आउने गरेकोमा हाल १०/१५ वटा मात्रै आइरहेको उनले बताए ।
‘चीनबाट सामान आइरहेकै छ । ठप्प भएको होइन । तर, व्यवसायीको अर्डर अनुसार आउन नसकेको गुनासो छ,’ उनले मेरोअटोसँग भने, ‘विगतमा दैनिक औसतमा ३५ कन्टेर आउने गरेकोमा आजकाल १५ वटामा सीमित छ ।’
दैनिक आयात हुने सामानमा पनि झण्डै ८० प्रतिशत फलफूल रहने गरेकाले अन्य सामान आउन नसकेको उनले बताए । विद्युतीय सवारी र स्पेयर पार्टस आयातमा भने समस्या रहेको नसुनिएको उनले बताए ।५ महिनामा तातोपानी हुँदै १६३७ युनिट नयाँ सवारी भित्रिएका छन् ।
नेपाली व्यवसायीको मालसामान चिनियाँ कन्टेनरले नै सीमा क्षेत्रसम्म ओसारपसार गर्छन् । त्यहाँबाट नेपाली कन्टेनरले तातोपानी भन्सारको लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउँछन् । तातोपानी नाकाबाट न्यालम करिब ४४ किमी टाढा छ । रसुवागढीबाट सामान लिन केरुङ गएका २०० बढी कन्टेनर पनि उतै रोकिएका छन् ।
सुन्दैन चिनियाँ पक्ष
संघले व्यापार सहजीकरणका लागि नेपाल सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई पटक पटक आग्रह गरे पनि चिनियाँ पक्षले सुनुवाइ नगरेको अध्यक्ष कार्की बताउँछन् ।
सरकारी तवरबाट पनि व्यापार सहजीकरणका लागि पटक पटक पत्रचार र अनुरोध गरिएको छ । प्रमुख भन्सार अधिकृत चुडालले कन्टेनर निर्वाध आउने वातावरण बनाइ दिन बेइजिङस्थित महावाणिज्यदूतावास र न्यालमका चिनियाँ अधिकारीहरूलाई पत्रचार गरिएको बताए । जवाफमा चिनियाँ पक्षले सहज गर्ने आश्वासन दिए पनि व्यवहारमा नदेखिएको उनले बताए ।
त्यस्तै, गत पुस २ गते भएको बिदाइ भेटमा प्रधानमन्त्री सुशिला कार्कीले नै चिनियाँ राजदूत छन् सोङलाई आग्रह गरेकी थिइन् । नेपालले अनुरोध गर्दा चिनियाँ पक्षले सहज बनाउँछौं भने पनि व्यवहार परिवर्तन गरेको छैन । कन्टेनर माथिको कडाइ कायमै राखेको छ । चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाउँदा व्यवसायी मर्कामा परेको अध्यक्ष कार्कीको बुझाइ छ ।

रसुवागढी नाका चाँडै खुल्ने भएकाले व्यवसायीले सामान ल्याउन केही सहज हुने अपेक्षा गरेका छन् । तर, चिनियाँ व्यवहार नफेरिए हालत उस्तै हुने व्यवसायीको बुझाइ छ ।
राजस्व लक्ष्यमा गम्भीर धक्का
बाढीपहिरो, स्थानीयको अवरोध, चीनको अघोषित नाकाबन्दीका कारण नियमित मालवस्तु आयात नहुँदा तातोपानी भन्सार कार्यालयको राजस्व लक्ष्य प्राप्तिमा गम्भीर धक्का लागेको छ ।
प्रमुख भन्सार अधिकृत चुडालका अनुसार चालु आवमा तातोपानी भन्सारबाट २४ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । तर, ५ महिनामा लक्ष्यको २३.७० प्रतिशत अर्थात् ५ अर्ब ८० करोड रुपैयाँ मात्र संकलन भएको उनले बताए ।
लक्ष्य भेटाउन औसतमा मासिक २ अर्ब ४ करोड रुपैयाँ राजस्व उठाउनु पर्छ । सो अनुसार ५ महिनामा १० अर्ब बढी संकलन भइसक्नुपर्थ्यो । चालु आवको कुनै पनि महिना राजस्य लक्ष्य भेटाउन नसकेको उनले बताए ।
‘बाढीपहिरो, स्थानीयको अवरोध, चीनको कडाइले अर्डर अनुसार मालसामान आउन सकेको छैन । ५ महिनामा झण्डै १०० दिन सडक बन्द रह्यो,’ उनले भने, ‘नियमित सामान नआउँदा राजस्व लक्ष्य प्राप्तिमा ठूलो धक्का लागेको छ । कुनै महिना पनि लक्ष्य भेटाउन सकिएको छैन ।’
५ महिनामा एक चौथाइभन्दा कम राजस्व उठेकाले लक्ष्य प्राप्ति हुनेमा आशंका रहेको उनको भनाइ छ । चालु आवको ५ महिनामा तातोपानी भन्सारबाट कुल १७ अर्ब ५५ करोड रुपैयाँको व्यापार भएको छ ।

