थपिँदै चिनियाँ ब्राण्डका कार : पेचिलो बन्दै प्रतिस्पर्धा, कमजोर सर्भिस

काठमाडौं । विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्यका साथ नेपालमा आधिकारिक बिक्रेता तोकेर करिब आधा दर्जन सवारी ब्राण्ड नेपाल आउन लागेका छन् । यसअघि नै नेपाली बजारमा प्रवेश गर्ने घोषणा गरेका स्मार्ट, दिपल, एवोन, स्काइवेल जस्ता ब्राण्ड सन् २०२४ लागेसँगै नेपाल आउने छन् ।

यसका अलावा भियतनामी ब्राण्ड भिनफास्ट, चिनियाँ ब्राण्ड एनआईओ र एलआई अटो पनि नेपाल ल्याउन व्यवसायीले दौडधूप गरिरहेका ब्राण्डमा पर्छन् । यी ब्राण्ड कहिले नेपाल आउँछ अहिल्यै एकीन भन्न सक्ने अवस्थामा छैनन् ।

कुनै समय जापानी ब्राण्डको दबदबा रहेको नेपालमा त्यसपछि दक्षिण कोरिया, यूरोप, अमेरिकी र भारतीय उत्पादनको प्रभाव विस्तार भएको देखिन्छ । पछिल्ला ५ वर्षमा विद्युतीय कारको दौडले तीव्रता पाएसँगै चिनियाँ ब्राण्डको बाक्लो उपस्थिति देखिन्छ ।

चीनमा चलेका ब्राण्ड बीवाइडी, एसएआइसीको एमजी, ग्रेटवाल मोटर्स जस्ता ब्राण्डले नेपालमा बलियो उपस्थिति बनाएसँगै अटोमोबाइल व्यवसाय गर्नेलाई चिनियाँ ब्राण्ड नल्याएको खण्डमा आफू यो व्यवसायबाटै पलायन हुन्छु कि भन्ने डर पैदा भएको देखिन्छ । त्यसैले उनीहरू कहिल्यै कसैले नाम नै नसुनेको ब्राण्ड पनि नेपाल ल्याउन दौडधूप गरिरहेका छन् ।

माथि चर्चा गरेका ब्राण्डका अलावा लीप मोटर, एक्सपेन, जिली जस्ता ब्राण्डसँग पनि नेपाली व्यवसायीहरूले कुरा गरिरहेका छन् । यी सबै ब्राण्ड तत्काल नेपाल आउन लागेका भने होइनन् । यी मध्ये अधिकांश ब्राण्डसँग राइटह्याण्ड ड्राइभ अप्सनमा गाडी नै छैनन् । त्यसका बाबजूद एजेन्सी होल्ड गर्न कै लागि डिलरसिप लिन लागि पर्ने व्यवसायी पनि यहाँ छन् ।

बढ्दै प्रतिस्पर्धा

चिनियाँ ब्राण्ड एमजी र बीवाइडी बीचको कडा प्रतिस्पर्धा नेपालमा चलिरहेको छ । यही प्रतिस्पर्धालाई रोचक बनाउन सेरेसका ईभी थपिएका छन् । सेरेसले यही हप्ताबाट गाडीको डेलिभरी सुरू गर्दैछ ।

चाँडै चेरीको ओमोडा यही बजारमा आउँदै छ । ओमोडाको प्रतिस्पर्धा बीवाइडी एटो थ्रीसँग हुने देखिन्छ । नयाँ ब्राण्डहरू थपिएपछि पनि ५० लाखदेखि ७० लाख मूल्यका ईभीको सेग्मेन्टमा कडा टक्कर हुने देखिन्छ ।

प्रयोगशाला बन्दै नेपाल

चिनियाँ उत्पादन सबै किसिमका हुन्छन् । उत्कृष्ट फिचर र सुरक्षाको हिसाबले अब्बल मात्रै उत्पादन नहुने भएको कारण धेरै कमसल प्रोडक्ट पनि नेपाल आइरहेका छन् । यसका उदाहरण धेरै छन् । डेरी र दिगोले ल्याएका साना कार यसको यथेष्ट उदाहरण हुन् । यी बाहेक पनि एक दर्जन ब्राण्डका साना ईभी नेपाल आए । तर, बिक्री भने सुरू हुन पाएन ।

नेपाल सरकारसँग परीक्षण गर्ने क्षमता नहुनु र व्यापारीले जस्तो सुकै प्रोडक्ट भए पनि ल्याएर खुलमखुला बजारमा बिक्री गर्न पाउने भएकै कारण नेपाल ईभीको प्रयोगशाल बन्दैछ भन्दा फरक पर्दैन ।

नेपाल आउने सवारीसाधनको सेफ्टी टेष्ट, ब्याट्री हेल्थ टेष्ट, त्यसको मोटरको परीक्षणसमेत नहुने भएको कारण आयातकर्ताले ढुक्कसँग गाडी ल्याएर बिक्री गर्दै आएका छन् ।

सर्भिसका कमजोर अवस्था

चीनबाट ईभी आयात सुरू भएको ५/६ वर्ष बिते पनि अधिकांश ब्राण्डले सर्भिस सेन्टर गतिलोसँग पनि बनाउन सकेका छैनन् । अहिले डिलरसिप विस्तार गरेर काम गरिरहेका ब्राण्डले जसोतसो सर्भिस दिइरहेका छन् । तर, उनीहरूसँग सिरियस दुर्घटना भएर गाडी आएमा त्यसलाई तत्काल बनाउन सक्ने किसिमको इक्यूपमेन्ट समेत छैन ।

गाडीमा रहेको चार्जलाई तत्काल डिस्चार्ज गर्नु परेको खण्डमा के गर्ने भन्ने विषयको उत्तर समेत धेरै कम्पनी दिन सक्दैनन् ।

गाडी किनेपछि सर्भिस पाउने ग्राहकको अधिकार हो । साथै, गाडी किन्दा आफूले किन्ने ब्राण्डले दिने सर्भिस र सेवा कस्तो छ भन्ने एकिन गर्नु ग्राहकको पनि दायित्व हो । त्यसैले चिनियाँ ब्राण्डहरू गाडी बिक्री सुरू गरेको वर्षौसम्म पनि सर्भिस सेन्टर नबनाई बिक्री गर्ने ब्राण्ड पनि छन् ।

 


Back_to_top