बेलायतमा बिक्री हुने ९ चिनियाँ उत्कृष्ट कार, नेपालमा कुन कुन पाइन्छ ?

काठमाडौं । युरोपमा एकदमै कम चिनियाँ ब्राण्डले मात्रै आफ्नो उत्पादन बिक्री गर्न थालेका छन् । त्यसमा पनि बेलायत राइट ह्याण्ड ड्राइभ गाडी चलाउने देश भएको कारण यहाँको बजार सबैको रोजाइमा पर्दैन ।

युरोपमा एमजी, बीवाइडी, ग्रेटवाल, ओमोडा/जेको, जिकर जस्ता ब्राण्डले चीनमा उत्पादन भएका गाडी बिक्री गर्दै आएका छन् । त्यसमध्ये पनि एमजी बेलायतकै पुरानो ब्राण्ड हो । यसको स्वामित्व चिनियाँ एसएआईसी ग्रुपले खरिद गरेसँगै चीनमा यसको उत्पादन हुँदै आएको छ ।

एमजी बाहेकका अन्य चिनियाँ ब्राण्डसँग बेलायतको विगत जोडिएको छैन । बढ्दो विद्युतीय साधनको उपभोगमा बेलायतले चिनियाँ कारलाई राम्रै बजार उपलब्ध गराउँदै आएको छ । यस्तोमा निम्न १० कार मोडललाई बेलायतमा राम्रो मान्दै आएका छन् ।

९. ओमोडा ई-५

नेपाली बजारमा पनि उपलब्ध ओमोडा ई-५ बेलायतमा धेरैले मनपराएको कुप्पे डिजाइन एसयूभी हो । नेपाली बजारमा बिक्री हुँदै आएको ई-५ कै समान ६१ किलोवाट आवर क्षमताको ब्याट्री साइजमा उपलब्ध छ । यसमा मोटर भने १५० किलोवाटको छ ।

८. ओरा-०३ ह्याचव्याक

ग्रेटवाल मोटरको ओरा-०३ क्लासिक डिजाइनमा तयार भएको मोडल हो । पुरानो फक्सवागेन विटलबाट प्रेरित डिजाइनमा यसलाई तयार गरिएको छ । नेपालमा ४८ किलोवाट आवरको ब्याट्रीमा मात्रै उपलब्ध ओरा-०३ बेलायतमा ६३ किलोवाट आवरको ब्याट्रीमा पनि उपलब्ध छ । यसमा १२७ किलोवाटको मोटर छ । नेपालमा भने ९९ किलोवाटको मोटरमा बिक्री हुँदै आएको छ ।

७. बीवाइडी सिलायन-७

चिनियाँ निर्माता बीवाइडीले सिलायनको बिक्री बेलायतमा सुरु गरेको छ । नेपालमा बिक्री सुरु हुन अझै केही महिना लाग्ने बताइएको छ । कम्पनीले ८२.५ र ९१.३ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा सिलायन–७ उपलब्ध गराएको छ । यसमा २३० र ३९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

६. एमजी-४ एक्सपावर

एमजी–४को पावरफुल मोटर उपलब्ध एक्सपावर मोडल पनि बेलायतमा निकै सफल छ । नेपाली बजारमा यो उपलब्ध छैन । यसमा ३२० किलोवाटको अल ह्वील मोटर छ । यसमा ६४ किलोवाट आवरको एनएमसी ब्याट्री उपलब्ध छ ।

५. बीवाइडी एटो-३ 

नेपालमा सर्वाधिक बिक्री हुने बीवाइडी एटो-थ्री बेलायतमा ५ औं चर्चित चिनियाँ इलेक्ट्रीक एसयूभी हो । यसमा ६० किलोवाट आवरको ब्याट्री प्याक र १५० किलोवाटको मोटर दिइएको छ ।

४. एमजी साइबरस्टर

स्पोर्टस् कारको रुपमा बजारमा आएको साइबरस्टर नेपालमा पनि उपलब्ध छ । बेलायतमा पनि यसलाई खुबै मनराइको रिपोर्टहरु उपलब्ध छ । बेलायतमा यसलाई ३८० किलोवाटको अल ह्वील ड्राइभ मोटरमा उपलब्ध गराइएको छ ।

३. बीवाइडी डल्फीन

नेपालको पनि सर्वाधिक सफल ह्याचव्याक इलेक्ट्रीक कार बेलायतमा पनि राम्रो संख्यामा बिक्री हुने मोडल हो । डल्फीन ४४.९ किलोवाट आवर र ६०.४ किलोवाट आवरको ब्याट्री साइजमा उपलब्ध छ ।

२. बीवाइडी सिगल

बीवाइडीको इन्ट्री लेभल मोडल नेपालमा उपलब्ध भएको छैन । बेलायतमा भने भर्खरै यसको बिक्री सुरु भएको हो । बिक्री सुरु हुनासाथ यसले दोस्रो स्थानमा आफुलाई राख्न सफल भएको छ । यसमा ३९ किलोवाट आवरको ब्याट्री र ५२ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।

१. एमजी-४

निरन्तर दुई वर्षदेखि एमजी-४ बेलायतमा ईभी बजारमा टप स्थानमा रहन सफल मोडल हो । निकै स्टाइलिस र मोर्डन डिजाइनमा तयार भएको स्पोर्टी ह्याचव्याक नेपालमा पनि उपलब्ध मोडल हो । एमजी-४ को पर्फमेन्स नेपालमा पनि उत्कृष्ट मानिन्छ । यसमा ५१ र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिइएको छ । बेलायतमा १२५ र १५० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ ।


Back_to_top