काठमाडौं । सन् २०२० सम्म ९७ प्रतिशत कारको आयात भारतबाट हुन्थ्यो । तर, पछिल्ला वर्षमा चिनियाँ उत्पादनको वर्चश्व कायम हुँदै गएको देखिन्छ । चीनमा उत्पादन भएका विद्युतीय कारको आयात वृद्धिसँगै दौड रोचक बनेको हो ।
अहिले चीनबाट बीवाइडी, एमजी, नेटा, सेरेस जस्ता ब्राण्डका विद्युतीय कार नेपाल आइरहेका छन् । संख्यात्मक हिसावले यी ब्राण्डका उत्पादन सन् २०२३ मा आइपुग्दा धेरै ठूलो भएको हो ।
बीवाइडी र एमजीको आयात कै कारण भारतीय उत्पादनलाई पछाडि धकेल्न चीन सफल भएको देखिन्छ । पछिल्ला ४ महिनाको तथ्यांक हेर्ने हो भने बीवाइडीले सबै ब्राण्डलाई पछाडि छोडेको देखिन्छ ।
बजारमा विद्युतीय साधनको माग बढेसँगै चिनियाँ ब्राण्डको रजगज सुरु भएको हो । अहिले स्थापित अटोमोवाइल ब्राण्डको आधिकारीक बिक्रेता समेत कुनै न कुनै चिनियाँ ब्राण्डको विद्युतीय कारको डिलरसिप खोजिरहेको भेटिन्छन् । यसो हुनुमा चीनले ईभी उत्पादनमा पाएको सफलता मुख्य कारण हो ।
नेपालमा विद्युतीय कारको बिक्री ६० प्रतिशत पुगिसकेको छ । त्यसमा सबैभन्दा धेरै आयात चीनबाट हुन्छ । भारतीय उत्पादक टाटाले समग्र बजारमा नेतृत्व गरिरहेको भएपनि चिनियाँ उत्पादन बीच चलिरहेको चर्को प्रतिस्पर्धाले उनिहरुलाई नै बलियो बनाउँदै लगेको देखिन्छ ।
अहिले ईभीको मूल्य तथा फिचरमा बीवाइडी र एमजी बीच कडा टक्कर गरिरहेका छन् । यी दुई ब्राण्ड बीचको प्रतिस्पर्धाले ग्राहकलाई समेत निकै फाइदा पुगेको छ ।
सन् २०२२ मा टाटाले ईभी बजारमा ७० प्रतिशत बजार हिस्सा ओगटेको थियो । तर, एमजी र बीवाइडीको सप्लाई राम्रो भएसँगै बजारमा उनिहरुको बाहुल्यता बढ्यो । त्यसको सिधा असर कोरियन उत्पादनमा परेको देखिन्छ । टाटाले आफ्नो पहिलो स्थान जोगाएर राखेको छ ।
कोरियनमा बनेका कारको आयात अहिले नगन्य मात्रैछ । यूरोपियन ईभी अझै बजारमा प्रबेश भएका छैनन् । टाटा बाहेक सिट्रोनले भारतमा बनाएको ईभी उपलब्ध भएपनि त्यसले बजार हिस्सामा ठूलो फरक पार्न सक्ने अवस्था देखिदैन ।
पेट्रोलमा छैनन् चिनियाँ ब्राण्ड
अहिले पनि निजी कारको बजारमा ४० प्रतिशत माथि पेट्रोल कारको हिस्सा छ । तर, त्यो सेग्मेन्टमा कार बिक्री गर्ने केही ब्राण्ड भएपनि उनिहरुको बजार हिस्सा नगन्य मात्रै छ ।
अहिले नेपालमा ग्रेटवाल, चेरी, चांगन जस्ता चिनियाँ ब्राण्डका कार बिक्री हुँदै आएको भएपनि यी ब्राण्डको बजार हिस्सा खासै छैन । पेट्रोल कारमा अहिले पनि भारतमा उत्पादन भएका कारको हिस्सा निकै ठूलो छ । त्यसमा हुन्डाई, मारुती सुजुकी र महिन्द्रा अग्रस्थानमा आउँछन् ।


