काठमाडौं । टीभीएस रोनिन मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । कम्पनीले दुई भेरियन्टमा टीभीएस रोनिन सार्वजनिक गरेको हो ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले नेपालमा नै एसेम्वल भएको रोनिन सार्वजनिक गरेको हो ।
कम्पनीले नेपालमा नै एसेम्वल गरेको २२५ सीसी क्षमताको क्रुजर मोटरसाइकल रोनिनको सुरुवाती मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।
यो मोटरसाइकलले रोयल इनफिल्डको हन्टर ३५० सँग प्रतिस्पर्धा गर्नेछ भने यसको मूल्य हन्टरको भन्दा ९ हजार रुपैयाले सस्तो रहेको छ ।
यस्तो छ मोटरसाइकल
टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।


