काठमाडौं । अहिले नेपाली बजारमा हुन्डाई, मारुती सुजुकी, टाटा, किया, फोर्ड, महिन्द्रा र निसानले सब फोर मिटर सेग्मेन्टमा एसयूभी विक्री गर्दै आएका छन् । यो सेग्मेन्टमा विक्री हुने एसयूभीमा रहेको पेट्रोल इन्जिन र त्यसको पावर धेरैको चासोको विषय हो ।
गाडीको महत्वपूर्ण विषय इन्जिन रहेकाले ग्राहकले इन्जिनको बारेमा जानकारी राख्नु निकै महत्वपूर्ण हुन्छ । अहिले सब फोर मिटर एसयूभी सेग्मेन्टमा हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० र निसान म्याग्नाइट बजारमा उपलब्ध रहेका छन् ।

यी मध्ये मारुती सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टमा नेचुरल एस्पायर्ड इन्जिन मात्र उपलब्ध रहेको छ भने यी बाहेकका सबै एसयूभीमा नेचुरल एस्पायर्ड र टर्बो इन्जिन उपलब्ध रहेको छ ।
निसान म्याग्नाइटमा सबैभन्दा कम क्षमताको नेचुरल एस्पायर्ड इन्जिन उपलब्ध रहेको छ । यो सेग्मेन्टमा सबैभन्दा पावरफुल इन्जिन फोर्ड इकोस्पोर्टमा उपलब्ध रहेको छ । निसान म्याग्नाइटमा उपलब्ध नेचुरल एस्पायर्ड इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने फोर्ड इकोस्पोर्टमा रहेको इन्जिनले १२२ पीएस पावर १४९ एनएम टर्क प्रदान गर्छ ।

टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० मा समान १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ भने हुन्डाई भेन्यूमा १.० लिटर टर्बो र १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन उपलब्ध रहेको छ । किया सोनेट भने नेपालमा १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिनमा उपलब्ध रहेको छ । भेन्यू र सोनेटमा हुन्डाई मोटर ग्रुपले उत्पादन गरेको एउटै इन्जिन दिइएको छ ।


