टर्बो इन्जिन भएका ४ सब-कम्प्याक्ट एसयूभी, पावर र मूल्यमा यस्तो छ प्रतिस्पर्धा

काठमाडौं । विगत ३ वर्षदेखि नेपाली बजारमा साना एसयूभीमा टर्बो इन्जिन उपलब्ध हुन थालेका छन् । फोर्डले ७ वर्षअघि नै इकोस्पोर्टमा टर्बो इन्जिन दिएको थियो । तर, त्यसले नेपालमा राम्रो व्यापार गर्न भने सकेन । त्यसैले फोर्डले इकोस्पोर्टलाई १.० लिटर टर्बो इन्जिन नेपाल ल्याउन बन्द गरेको थियो ।

तर, सन् २०२१ मा टाटाले नेक्सनलाई १.२ लिटर टर्बो इन्जिनमा ल्याएसँगै पुनः सब फोर मिटर एसयूभीमा अहिले टर्बो इन्जिन पाउन सकिन्छ । अहिले नेपाली बजारमा टाटा, हुन्डाई, महिन्द्रा र निसानले टर्बो इन्जिनमा सब फोर मिटर सेग्मेन्टका एसयूभी विक्री गर्दै आएका छन् ।

हुन्डाई भेन्यू र निसान म्याग्नाइटमा १.० लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ भने टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० मा १.२ लिटर टर्बो इन्जिन दिइएको छ । सानो इन्जिन भएपनि यी ४ वटै इन्जिन निकै पावरफुल रहेका छन् ।

विशेषत टर्बो इन्जिनले काम गर्न कम्तीमा १५०० देखि २२०० आरपीएम पुग्नु पर्ने हुँदा सहरी क्षेत्रमा यस्ता गाडी चलाउँदा टर्बोको अनुभव कमै मात्र गर्न पाइन्छ । तर, हाइवेमा गाडी चलाउँदा भने टर्बो इन्जिनको पावर चालकले अनुभव गर्न पाउने छन् ।

अन्तर्राष्ट्रि बजारमा विस्तारै टर्बो इन्जिनको प्रयोग बढ्दो रहेको छ । इन्जिन क्षमता कम गर्दै पावरफुल गाडी बनाउने होडमा कम्पनीहरुले यस्ता इन्जिन प्रयोग गर्छन् । अहिले अधिकांश गाडी निर्माताले यस्ता इन्जिन प्रयोग गरेको पाइन्छ ।

कुनमा कति पावर

महिन्द्रा एक्सयूभी ३०० मा ११९७ सीसी क्षमताको टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा १०८.६ बीएच पावर र २००० देखि ३५०० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ ।

टाटा नेक्सनमा ११९९ सीसी क्षमताको इन्जिन रहेको छ । यसको पावर भने महिन्द्रा एक्सयूभी ३०० भन्दा धेरै रहेको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा ११८.३६ बीएच पावर र १७५० देखि ४००० आरपीएममा १७० एनएम टर्क प्रदान गर्छ ।

हुन्डाईले भेन्यूमा दिएको टर्बो इन्जिन ९९८ सीसी क्षमताको रहेको छ । कम सीसी भएपनि भेन्यूको इन्जिन नेक्सन जतिकै पावरफुल रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ११८.३५ बीएच पावर र १५०० दृखि ४००० आरपीएममा १७१ एनएम टर्क प्रदान गर्छ ।

यी चारवटै सब फोर मिटर मध्ये सबैभन्दा कम पावर निसान म्याग्नाइटमा रहेको छ । यसमा ९९९ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५००० आरपीएममा ९८.६३ बीएच पावर र २२०० देखि ४४०० आरपीएममा १५२ एनएम टर्क प्रदान गर्छ ।

मूल्य कति ?

निसानले म्याग्नाइटको विभिन्न ५ भेरियन्टलाई टर्बो इन्जिनमा उपलब्ध गराएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ४३ लाख २९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई भेन्यू टर्बो इन्जिनमा दुई भेरियन्ट मात्रै विक्री भइरहेको छ । कम्पनीले आइएमटी गियरबक्समा मात्रै टर्बो इन्जिन भएको भेन्यू उपलब्ध गराएको छ । भेन्यू आइएमटी एस भेरियन्टको मूल्य ४४ लाख ९६ हजार र एसएक्स भेरियन्टको मूल्य ५० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

महिन्द्राको एक्सयूभी ३०० विभिन्न चार भेरियन्टमा उपलब्ध रहेको छ । यसको सुरुवाती भेरियन्ट डब्ल्यू४ को मूल्य ३९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट डब्ल्यू८ अप्सनलको मूल्य ५६ लाख ५० हजार तोकेर विक्री हुँदै आएको छ ।

टाटा नेक्सन सबैभन्दा धेरै भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसलाई ७ भेरियन्टमा उपलब्ध गराएको छ । यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट एक्सजेडए प्लस एसको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top