काठमाडौं । आज दशैंंको छैटौं दिन । मुख्य राजमार्गहरूमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनको ताँती छ । घटस्थापना यता सार्जजनिक सवारीमा मात्रै ५ लाख बढी यात्रु बाहिरिसकेका छन् ।
निजी सवारी साधन (कार/मोटरसाइकल)मा जानेको संख्या पनि धेरै छ । नेपालमा पछिल्लो समय विद्युतीय कार (ईभी)को प्रयोग व्यापक हुँदै गएको छ । काठमाडौंबाट टाढा टाढाको यात्रा पनि ईभी मै गर्न थालेका छन् । चाहे पूर्वको झापा होस् वा पश्चिममा कन्चनपुर । पहाडी र हिमाली जिल्लामा समेत ईभी पुग्न थालेका छन् ।
पछिल्ला वर्षहरूमा जुन स्तरमा इलेक्ट्रीक भेहिलको बिक्री बढेको छ । ती सबै ईभीहरू एकैपटक हाइवेमा गुड्दा चार्जिङ स्टेशन नपुग देखिन्छ । अर्थात् गाडी चार्ज गर्न लाइन बस्नुपर्ने अस्था आउन सक्छ । विगतका वर्षहरूमा हामीले चार्जिङ स्टेसनमा घण्टौंसम्म लाइन देखेकै हौं । अन्य समयमा चार्जिङको समस्या नभए पनि दशैं, तिहार जस्ता चाडपर्वमा अभाव महसुस हुन्छ ।
त्यही कुरालाई मध्येनजर गर्दै चार्जिङ स्टेसन निर्माणले पनि तीव्रता पाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म देशभर १५५० बढी चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । जसमा प्राधिकरण, सवारी साधन बिक्रेता, निजी क्षेत्र लगायतले चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् ।
यस्तै, अटो व्यवसायीहरूले सयौं संख्यामा चार्जिङ स्टेसन निर्माणको घोषणा समेत गरेका छन् । यहाँ हामीले ईभी बिक्रेताहरूले हालसम्म कति कति वटा चार्जिङ स्टेसन निर्माण गरेका छन् भन्ने जानकारी दिएका छौं ।
कुन कम्पनीले कति बनाए चार्जिङ स्टेसन ?
हाल नेपालमा झण्डै ४ दर्जन ब्राण्डका विद्युतीय कार बिक्री हुँदै आएका छन् । ती मध्ये अधिकांश प्रमुख ब्राण्डहरूले आफ्नो चार्जिङ नेटवर्क स्थापना गरेका छन् ।

नेपालमा धेरै ईभी बिक्री गर्ने बीवाइडीले पनि देशका मुख्य सहर र राजमार्गहरूमा डीसी फास्ट चार्जर जडान गरको छ । कम्पनीले ५५ स्थानमा फास्च चार्जरहरू जडान गरेको बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकका सर्भिस मेनेजर सुशिल तन्डुकारले मेरोअटोलाई बताए । कम्पनीले लगाएका फास्ट चार्जरहरू ३० किलोवाट क्षमताको रहेको छ ।
त्यस्तै, एसपीजी अटोमोबाइलको जनरल म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार कम्पनीले देशभरका विभिन्न ३२ स्थानमा डीसी फास्ट चार्जर जडान गरिसकको छ । पछिल्लो समय अपरमुस्ताङसम्म ईभी जान थालेको र कोरला नाका हुँदै आयात हुन थालेकाले कम्पनीले ३४५३ मिटरको उचाइमा अपर मुस्ताङको साराङमा ४० किलोवाटको डीसी फास्ट चार्जर जडान गरको उनले बताए । सारडा ग्रुप र गोल्छा ग्रुपको जोइन्ट भेन्चरमा यी फास्ट चार्जरहरू जडान गरिएको हो । यी चार्जरमा ओमोडा, जेको र लिप मोटर्सका ईभीहरू चार्ज गर्न सकिन्छ ।
नेपालमा निजी गाडीलाई सपोर्ट गर्ने सीसीएसटु फास्ट चार्जर सबैभन्दा धेरै एमएडब्लू वृद्धि गु्रपले जडान गरको छ । एमएडब्लू वृद्धि ग्रुपले सेरेस, नामी, दिपल र फोटन जस्ता ईभी ब्राण्डको बिक्री गरिरहेको छ । एमएडब्लू वृद्धिले १३४ स्थानमा डीसी फास्ट चार्जर जडान गरेको हो । कम्पनीले १८ स्थानमा ६० किलोवाटको डबल गन र बाकि स्थानमा ४० किलोवाटको डीसी फास्ट चार्जर स्थापना गरिसकेको छ ।
त्यस्तै, पछिल्लो समय राम्रै संख्यामा ईभी बिक्री गरिरहेको हुन्डाईले पनि मुख्य सहरहरू र हाइवेमा डीसी फास्ट चार्जर निर्माण गरिरहेको छ ।
कम्पनीले रिपियरको समेत सुविधा भएको ५ स्थानमा रिल्याक्स सेन्टर स्थापना गरेको छ । त्यसबाहेक अन्य ५ गरी १० वटा फास्ट चार्जर जडान गरिसकेको नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईका जनरल मेनेजर दीपक थपलियाले बताए । कम्पनीको नेटवर्कमा हाल एसी र डीसी गरी ६३ वटा चार्जर रहेको उनले बताए । लक्ष्मी ग्रुपले जडान गरेको चार्जर ३०,६० र ८० किलोवाट क्षमताका रहेका छन् ।

नेपालमा सबैभन्दा पहिला चार्जिङ नेटवर्क बनाएर मात्र ईभी बिक्री सुरू गरको टाटा मोटर्सले पनि एसी र डीसी दुवै चार्जिङ नेटवर्क संचालन गरिरहेको छ । टाटा मोटर्सको हाइवे र मुख्य सहरहरूमा ३४ स्थनमा डीसी फास्ट चार्जर रहेको छ । एसी फास्ट चार्जर धेरै वटा रहेको छ ।
सबैभन्दा ठूलो चार्जिङ नेटवर्क रहेको सीजी मोटर्सले करिब ३०० फास्ट चार्जर जडान गरिसकेको छ । कम्पनीको चार्जरहरू जीबीटी र सीसीएसटु दुवै प्रकारको रहेको छ । कम्पनीको २४८ वटा जीबीटी र २४ सीसीएसटु चार्जर संचालनमा रहेको छ ।
यसका अलावा नेपाल विद्युत प्राधिकरणले ६१ स्थानमा र विभिन्न निजी क्षेत्रहरूले समेत धेरै वटा फास्ट चार्जर स्थापना गरिसकेका छन् । कतिपय स्थानमा त स्थानीय निकायले समेत चार्जिङ स्टेशन बनाएका छन् । फास्ट चार्जिङ स्टेशन धेरै स्थानमा बने पनि विद्युत सप्लाइमा भोल्टेजको समस्याले ईभी चार्ज नहुने समस्या देखिन सक्छ ।

