काठमाडौं । नेपालमा अहिले करिब तीन दर्जन दुई पाङ्ग्रे र दुई दर्जन चार पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरुले सवारीसाधन बिक्री गर्दै आएका छन् । कोरोना (कोभिड १९) भाइरसको कारण देश नै लकडाउनमा परेका छन् । आज लकडाउनको १६ दिन बितिसक्दा पनी एकाध बाहेक अन्य कम्पनीले वारेन्टीको समयावधी बढाउने कुनै सूचना जारी गरेका छैनन् ।
विश्वभर अटो उत्पादकले अर्बौ रुपयाँ आ–आफ्नो व्यवसाय संचालनमा रहेको देशमा खर्च गरेका छन् भने आफ्नो वारेन्टी पिरियडलाई ३ महिनासम्मले बढाएका छन् । यति मात्र नभएर आफ्नै इन्भेष्टमेन्ट कम्पनीबाट गाडी किन्नेलाई मासिक किस्ता तिर्न नसके वा उसको जागिर गए ६ महिनासम्म किस्ता तिर्नु नपर्ने अफर गरेका छन् ।
तर, नेपालमा हुन्डाई, सुजुकी, महिन्द्रा र टाटाले आफ्नो वारेन्टी पिरियड र फ्रि सर्भिसिङको समयावधी २ महिनाले थप गर्नु बाहेक अन्य कुनै कम्पनीले त्यस्तो आधिकारीक घोषणा गरेका छैनन् । यसरी २ दर्जन सवारीसाधन बिक्री गर्ने कम्पनीमा वारेन्टी अवधी बढाउने अहिलेसम्म चारवटा मात्रै कम्पनी भएका छन् ।
दुई पाङ्ग्रेतर्फ टीभीएसले आगामी मे १३ सम्मको लागि सर्भिस र वारेन्टि पिरियड थप गरेको छ । होन्डाले मोटरसाइकलमा वारेन्टी पिरियड बढाएको छैन । तर, उसले सर्भिसिङको अवधि भने थप गरेको छ । बजाज, यामाहा र हिरो जस्ता ब्राण्डले अहिलेसम्म कुनै आधिकारीक घोषणा गरेका छैनन् । यी कम्पनीहरुले चाँडै आ–आफ्नो अफर सार्वजनिक गर्ने जनाएका छन् ।

