दशैंमा कम मूल्यका इलेक्ट्रीक कार किन्नेलाई जुरेको ३ अवसर

काठमाडौं । नेपालीहरुले सबैभन्दा धेरै खर्च गर्ने चाडपर्वको समयमा तपाई पनि एउटा नयाँ बजेट कार किन्ने योजनामा हुनुहुन्छ भने तपाईको लागि यो राम्रो अवसर हुन सक्छ ।

अहिले गाडी किन्न उपयुक्त अवसर मान्न सकिने तीन कुरा छन् । त्यसमा पहिलो बिक्रेता कम्पनीहरुले दिएको अफर, दोस्रो साना र राम्रा गाडीमा आएको प्रतिस्पर्धी मूल्य र तेस्रो बैंकले दिएको आकर्षक ब्याजदर हो ।

अहिले बजारमा उपलब्ध ३० लाखदेखि ४० लाख मूल्यसम्मका कारमा आधुनिक फिचर, ४०० किलोमिटरसम्मको रेन्ज र आकर्षक डिजाइनमा पाइन्छ । यसले समग्र अटोमोवाइल क्षेत्रमा नै राम्रा कार सस्तो मूल्यमा किन्ने अवसर सृजना गरेको छ ।

पेट्रोल कार र विद्युतीय कारको मूल्यमा यति ठूलो खाडल विश्वका कुनैपनि देशमा छैन । जसले ईभी पेट्रोल कारको तुलनमा निकै सस्तो बनाएको छ । त्यसैले दशैंको समयमा विद्युतीय कार किन्ने योजना बनाएर बसेकाहरुलाई यो उपयुक्त समय हुन सक्छ । किन भने नेपाल सरकारको कर नीति कतिवेला परिवर्तन हुन्छ टुङ्गो छैन ।

मूल्यमा प्रतिस्पर्धा गरिरहेका कम्पनीहरुकै कारण पनि उपभोक्तालाई अहिले विद्युतीय कार राम्रो मूल्यमा किन्ने अवसर सृजना गरेको हो । अहिले कम्पनीहरुले धमाधम नयाँ प्रोडक्ट बजारमा ल्याइरहेका छन् । त्यसैले तिब्र प्रतिस्पर्धालाई मध्यनजर गर्दै मूल्यमा कम्पनीहरु केन्द्रित भएको देखिन्छ । त्यसको फाइदा अहिले गाडी किन्ने मानिसले पाउने छन् ।

अर्को ठूलो फाइदा बैंकको ब्याजदरमा हो । अहिले बैंकहरुले ७ वर्षसम्म परिवर्तन नहुने गरी ८.५ प्रतिशत ब्याजदरमै कर्जा दिइरहेका छन् । यति कम ब्याजदरमा फिक्स अवधिको अटो कर्जा यसअघि ब्यवस्था नै थिएन । त्यसैले यस चाडपर्वमा गाडी किन्नेले आकर्षक ब्याजदरको सुविधा पाउने छन् ।

कहिल्यै ईभीमा स्कीम नदिने कम्पनीहरुले समेत अहिले अफर दिन थालेका छन् । नगद छुट, बीमा, सवारी कर, अतिरिक्त चार्जर जस्ता स्कीम ईभी बिक्रेताले दिन थालेका हुन् ।


Back_to_top