काठमाडौं । चीनबाट नेपाल गाडी आयात गर्ने रसुवागढी र तातोपानी दुबै नाका एकै पटक बन्द हुँदा गाडी आयात ठप्प भएको छ । दुबै नाकाबाट आवतजावत बन्द भएसँगै त्यसको प्रभाव कार बजारमा परेको हो ।
नाडा अटो शो २०२४ मा धेरै मानिसले कार बुकिङ गरेका थिए । बिक्रेताहरुले पनि बुकिङ कै आधारमा गाडी मगाएको तर दशैं अगाडि परेको अविरल वर्षाको कारण सडक अवरुद्ध हुँदा गाडी काठमाडौं ल्याउन नसकिएको हो ।

‘नाडा अटो शोमा भएको बुकिङको आधारमा गाडी मगाएका थियौं । त्यति बेला ठूलो संख्यामा बुकिङ भयो । त्यसैले हामीले कम्तीमा २०० जना बुकिङकर्तालाई गाडी दिन्छौं भनेका थियौं । तर, अबद दशैं अगाडि गाडी आउने अवस्था रहेन’, एमएडब्लू वृद्धि अन्तर्गत रहेको नामीका बिजनेस हेड प्रसन्न पन्तले भने ।

अहिले ठूलो परिमाणमा बीवाइडी, ओमोडा/जेको, दिपल, नामी, लीप, केई जस्ता ब्राण्डका गाडी चीन र नेपाल बोर्डर नजिक आइपुगेका छन् । तर, यहाँ गाडी किन्न तयार भएर बसेका उपभोक्ताले भने दशैं अगाडि गाडी पाउने अवस्था रहेन ।
दशैंको चौथो दिनसम्म पनि शोरुमहरुमा खासै रौनक आउन सकेको छैन । त्यसको मुख्य कारण प्रतिकुल मौसमले सृजना गरेको अवस्था रहेको ब्यवसायीहरु बताउँछन् ।

अहिले बुकिङ गरेका ग्राहक आउँदै गरेको गाडी छाडेर अन्यत्र जाने सम्भावना रहन्छ नि भन्ने हाम्रो प्रश्नमा ब्यवसायीहरुको एउटै स्वर पाइन्छ, ‘सबैको आएको छैन, त्यसैले अर्कोमा जाने सम्भावना न्यून रहन्छ ।’

जेहोस् दशैंमा कुल बजारको ३० देखि ४० प्रतिशतसम्म ब्यापार हुने बजारमा गाडीको उपलब्धता नै नहुँदा त्यसको असर पर्नु स्वभाविक हो । यद्यपि, दशैंपछि खुल्ने बजारमा बुकिङ गर्नेहरुले कार खरिद गर्ने अनुमान गर्न सकिन्छ ।

