काठमाडौं । कमर्शियल सवारी साधन उत्पादन र बिक्रीमा महारथ हासिल गरेसँगै टाटाले प्यासेन्जर कार उत्पादनमा लगानी गरेको थियो । नेपालमा टाटाले अहिलेसम्म उत्पादन गरेका लगभग सबै प्यासेन्जर कार तथा एसयूभी उपलब्ध भएका छन् ।
सन् २०१८ पछि टाटाले उत्पादन गरेका एसयूभीले नेपाली सडकमा पनि बलियो उपस्थिति बनायो । नेक्सन, एच–५, सफारी जस्ता मोडल यसबीच आए र सफलताको स्वाद चखाए । त्यसअघि टाटा सुमो नेपालमा सर्वाधिक सफल मोडल थियो ।
सन् २०२१ मा पहिलो पटक नेक्सन ईभी नेपाल आएसँगै टाटाको परिचय नै बदलियो भन्दा फरक पर्दैन । टाटाले यसबीच टिगोर, टियागो जस्ता मोडल नेपाल ल्यायो । यी सबै मोडलले नेपालमा सफलता पाए ।
नाडा अटो शो २०२४ बाट नेपाली बजारमा प्रबेश गरेको टाटा पन्चले दुई महिनामै जुन किसिमको सफलता पाइरहेको त्यो आफैँमा पन्चलाई प्रमाणित गर्ने विषय हो । नेपाल आएको झण्डै दुई महिनापछि हामीले यसको टेष्ट ड्राइभ गरेका छौं । हाम्रो टेष्ट ड्राइभलाई आधार मान्दा पन्चलाई टाटाको विरासतभन्दा विल्कुलै फरक मोडलको रुपमा पायौं ।
त्यसको मुख्य कारण टाटाको नयाँ प्योर इलेक्ट्रीक प्लेटफर्म हो । ‘एक्टी डट ईभी’ प्लेटफर्ममा बनाएको पन्चको ड्राइभिङ डाइनामिक्स उसकै अन्य मोडलभन्दा नेक्सट लेभलमा छ ।
यसको ड्राइभिङ प्लेजर अहिले बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी विद्युतीय कारभन्दा केही कम छैन । अझ एसयूभी डिजाइन र १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्सले खराब बाटामा पनि लिएर जान सकिन्छ ।
टाटाले पन्च ईभीमा २५ र ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर छ । सानो ब्याट्री र ठूलो मोटरको कम्बीनेसनले २६० किलोमिटर रेन्ज दिने रहेछ ।
यसको ‘रिजेनेरेटीभ ब्रेकिङ सिस्टम’ पनि निकै पावरफुल छ । राम्रै ओरालो छ र लेभल ३ मा रिजेन गरिएको छ भने १.५ किलोमिटर चलाउँदा १ प्रतिशत रिचार्ज हुन्छ । ठाडो उकालो १ किलोमिटर यात्रा गर्न लगभग १ प्रतिशत चार्ज खर्च हुन्छ ।
सनरुफ चाहिनेले सानै भएपनि सनरुफ प्रयोग गर्न पाउँछन् । त्यो पनि भ्वाइस कमाण्डबाटै प्रयोग गर्न मिल्ने छ । हल्का हिन्दी टोन वा सनरुफलाई स्ट्रेस दिएर कमाउन्ड गर्ने हो भने सहजै खोल्ने र बन्द गर्न सकिन्छ ।
एसयूभी ड्राइभिङको अनुभव दिलाउन सक्ने पन्चमा दिइएको भेन्टीलेटेड सिट, ३६० डिग्री क्यामेराको इमेज क्वालिटी, सेन्सरहरुको प्रयोग, डिजिटल बटमहरुको प्रयोगले गाडीको इन्फोटेन्टमेन्ट सिस्टमको प्रयोगलाई घटाएर चालकमैत्री बनाएको छ ।