काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानको न्यू इनर्जी ब्राण्ड दीपल विवादको घेरामा परेको छ ।
दीपलले मंगलबार चीनमा रहेका ४ लाख ८० हजार ग्राहकको कारमा रहेको इनफोटेन्मेन्ट स्क्रीनमा पूर्वसहमति बिनै ५ सेकेण्डको विज्ञापन देखाएको थियो ।
दीपलका चालकहरूले आफ्नो भेहिकल अन गर्ने बित्तिकै ड्यासबोर्डमा रहेको इन्फोटेन्मेन्ट स्क्रीनमा ५ सेकेण्डसम्म एस ०९ को डिस्काउण्ट अफर देखिएको बताए । विज्ञापनमा भर्खरै लन्च भएको एस ०९ एसयूभीमा १० हजार आरएमबी ( १४०० अमेरिकी डलर) छुटको विज्ञापन देखाएको थियो ।
त्यसपछि चालकहरूले दिक्क मान्दै कम्पनीको उक्त कदमको तीव्र आलोचना गरेका छन् । दीपलको उक्त कदम विरुद्ध चीनभरीका ग्राहकहरूले सामाजिक संजालमा चर्को आलोचना गरेका हुन् ।

चालकहरूले दीपलको गाडीमा अनधिकृत रूपमा कम्पनीको हस्तक्षेप हुनसक्ने र ओभर दी एयर (ओटीए) सुविधाको कारण गाडीको कन्ट्रोल कम्पनीसँगै रहने देखिएको बताएका छन् ।
आफ्ना ग्राहकले चर्को आलोचना गरेपछि कम्पनीले आधिकारिक रुपमै माफी समेत मागेको थियो । कम्पनीका सीईओ डेङ चेङहाओले आफूले नै आफ्ना ग्राहकहरूलाई अफर दिनको लागि यो विज्ञापन देखाउन भनेको बताएका छन् । उनले आफ्नो गल्तीका कारण ग्राहकहरूमा परेको असुविधाको लागि व्यक्तिगत रूपमा समेत माफी मागेका हुन् ।

