काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी दिपलले नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले आगामी बिहीबार चीनमा मोडल जी ३१८ एसयूभी लन्च गर्ने भएको हो ।
यो एक हार्डकोर अफरोड ईआरईभी (एक्सटेन्डेट रेन्ज इलेक्ट्रीक भेहिकल) एसयूभी हो । गत मार्चमा देखाइएकोे यो एसयूभीको लम्बाइ ५०१० एमएम, चौडाइ १९८५ एमएम, उचाइ १९६० एमएमको रहेको छ । २ हजार ३६० केजी तौल भएको यो एसयूभीको ह्वीलबेस भने २८८० एमएमको रहेको छ ।
हार्डकोर अफरोड क्यापाबिलिटी भएको यो एसयूभीको अप्रोच एङ्गल २७ डिग्री, डिपार्चर एङ्गल ३१ डिग्रीको रहेको छ । यसको ग्राउण्ड क्लियरेन्स २४० एमएम सम्मकाे रहेका छ भने टोइङ क्यापासिटी १६०० केजीको छ ।
यसको अगाडिको भागमा ठूलो साइजको क्लोज ग्रिल र सी सेपको हेडलाइट दिएको छ । क्याम्प टेन्ट सपोर्ट गर्ने लगेज र्याक सहितको रुफमा चारवटा फोकस लाइट समेत दिएको छ । रियरमा फुल साइजको स्पेयर ह्वील तथा भर्टिकल सेपको टेललाइट रहेको छ ।

यसको ड्यासबोर्डमा डी सेपको थ्री स्पोक स्टेरिङ ह्वील, १२.३ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, दिपलको अपरेटिङ सिस्टम भएको १४.६ इन्चको सेन्टर कन्टोल स्क्रीन रहेको छ । अफरोडको लागि यो एसयूभीमा स्नो, मड, स्याण्ड, रग्ड, र वेडिङ गरी पाँच प्रकारका टेरेन मोड रहेको छ । यसका अलावा यो एसयूभीमा इकोनोमी, कम्फर्ट, स्पोट्स, एक्सक्लुसिभ र कस्टम चार फरक ड्राइभिङ मोड समेत रहेको छ ।
यो एसयूभीमा सिंगलमा ११० किलोवाटको मोटर दिएको छ भने ड्युल अप्सनमा अगाडि १३१ र पछाडि १८५ किलोवाटको मोटर अप्सन रहेको छ । यसमा रेन्ज एक्सटेन्डरको रूपमा १.५ लिटरको टर्बो चाज्ड इन्जिन समेत दिएको छ । यो इन्जीनले जेनेटरको रूपमा काम गरी गाडीमा रहेको ब्याट्री मात्र चार्ज गर्छ ।

दिपलको यो अफरोड एसयूभीमा १८.४ र ३५.१ किलोवाट आवरको ब्याट्रीप्याकको अप्सन रहेको छ । दिपलले यो एसयूभीमा नयाँ प्रविधिको नानोफाइबर डायफ्राम टेक्नलोजीको गोल्डेन बेल ब्याट्री प्रयोग गरेको छ । यो ब्याट्रीले १५० देखि २०० डिग्री सेन्टीग्रेट सम्मको तापक्रम रेसिस्टेन्स गर्न सक्छ भने यो ब्याट्रीलाई जोगाउन बटममा १० लेयरको प्रोटेक्सन रहको छ ।
दिपलको जी३१८ ले १९० किलोमिटरको सीएलटीसी प्योर ईभी रेन्ज तथा १००० किलोमिटरको संयुक्त रेन्ज दिन्छ । यो एसयूभी जम्मा ६।३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

