काठमाडौं । एकपछि अर्को ब्राण्डले नयाँ इलेक्ट्रीक कार मोडल नेपाल ल्याइरहेका छन् । यहि क्रममा चांगनको सहायक ब्राण्ड दिपलको नयाँ एसयूभी S7 नेपाल आउने भएको हो ।
निकै उत्कृष्ट रेन्ज, आधुनिक टेक्नोलोजीले भरिपूर्ण र प्रतिस्पर्धी मूल्यमा नेपाल आउने एस७ विद्युतीय कार बजारमा नयाँ आयाम थप्ने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।
कम्पनीले यसको आधिकारीक मूल्यको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, यसको टप भेरियन्टनै ८० लाख हाराहारीमा आउने अनुमान गर्न सकिन्छ । चिनियाँ बजारमा यसको सुरुवाती मूल्य २६ हजार ४०० डलर छ भने टप भेरियन्टको मूल्य २८ हजार २०० डलर मात्रै छ । यसमा ठूलो मोटर रहेको कारण नेपालमा राजश्व धेरै तिर्नु पर्ने हुन्छ ।
साइजको हिसावले निकै ठूलो रहेको दिपल S7 कम्पनीले हुवावेसँग मिलेर बनाएको कारण टेक्नोलोजीको भरपूर प्रयोग भएको बताइन्छ । यसको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम रहेको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस दिइएको छ ।

कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २१ इन्चको ह्वील दिएको छ । रियर ह्वील ड्राइभ सिस्टमको साथ आउने S7 चिनियाँ बजारमा दुई मोटर अप्सनमा उपलब्ध रहेको छ । यसमा १६० किलोवाट र १९० किलोवाट क्षमताका दुई मोटर छन् ।
मोटर मात्र होइन दिपल एस७ मा दुई ब्याट्री अप्सन पनि दिइएको छ । कम्पनीले ६६.८ किलोवाट आवर र ७९.९७ किलोवाट आवरको दुई ब्याट्री छनोटमा दिएको हो । सानो ब्याट्रीले ५२० र ठूलो ब्याट्रीले ६२० किलोमिटर रेन्ज दिने चिनियाँ टेष्टीङ एजेन्सी सीएलटीसीले प्रमाणित गरेको छ ।
१८० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्ने एस७ को इनर्जी खपत पनि निकै उत्कृष्ट मानिन्छ । यसले १०० किलोमिटर यात्रा गर्न केवल १४.२ किलोवाट ब्याट्री खपत गर्ने कम्पनीको दावी छ ।
एमएडब्लू वृद्धिका अनुसार आगामी डिसेम्बर महिनामा नै एस७ नेपाल आउने छ । यसको आधिकारीक बिक्री भने जनवरी २०२४ बाट सुरु हुने कम्पनी स्रोतको भनाइ छ ।


