२३० किलोमिटर रेञ्ज दिने कारको मूल्य १९ लाख ५० हजार

काठमाडौं । डेरी ब्रान्डले आफ्नो गाडीको मूल्य सार्वजनिक गरेको छ । अटोहोस्टले केही महिनाअघि नेपाल ल्याएको डेरी ब्राण्डका इभी ७ र इएम ७ मोडलको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले यसअघि इभी ७ मोडल २५ लाख ९९ हजार र इएम ७ मोडल २६ लाख ५० हजार रुपैयाँ मूल्य कायम गरेर विक्री गर्दै आएको थियो । यसअघि ४० प्रतिशत भन्सार र ६ प्रतिशत अन्तःशुल्क लाग्ने यी कारमा जेठ १५ गते सार्वजनिक भएको बजेट अनुसार १० प्रतिशत भन्सार मात्र लाग्ने भएसँगै कम्पनीले मूल्य घटाएको हो ।

कम्पनीले इभी ७ को मूल्य १९ लाख ५० हजार र इएम ७ मोडलको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकेको हो । कम्पनीले विक्री गर्ने यी दुबै गाडीमा व्याट्री पहिलेभन्दा ठूलो दिइएको छ । यसअघि १५ किलोवाट आवरको व्याट्री रहेकोमा अहिले १७ किलोवाट आवरको व्याट्री दिइएको छ । यी दुबै मोडलमा समान १५ किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध रहेको छ ।

कम्पनीले विक्री गर्ने इएम ७ मोडलको छतमा सोलार दिइएको छ । यसअघि इभी ७ ले १५८ किलोमिटर र इएम ७ ले १७० किलोमिटर रेञ्ज दिने कम्पनीको दावी थियो । व्याट्री साइजमा वृद्धिसँगै एक पटकको फुलचार्जमा २३० किलोमिटर रेञ्ज दिने कम्पनीले दावी गरेको छ ।

‘हामीले ल्याउने डेरी ब्राण्डका दुबै गाडीको रेञ्ज बढेको छ । यसले सहरी क्षेत्रका ग्राहकलाई निकै फाइदा पुग्ने छ । विद्युतीय सवारी साधनको विक्रीमा पुन उत्साह ल्याउने अपेक्षा गरेका छौँ’, अटोहोस्टका प्रवन्ध निर्देशक नवराज पौडेलले भने ।

यी दुबै कारमा हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर दिइएको छ ।


Back_to_top