आरामदायी यात्रा तर ब्यवसायीक असफताको बाटोमा जेट

काठमाडौं । नेपालको आन्तरिक उडान धेरै इन्धन खपत गर्ने जेट इञ्जिन भएका जहाजहरूले उडान भरिरहेका छन् । यस्ता जेटहरू अहिले सौर्य र श्री एयरलाइन्सले प्रयोग गरिरहेका छन् ।

सौर्य आर्थिक समस्यामा परेसँगै विक्री भएको छ भने, श्रीले उडान थालेको धेरै भएको छैन । यसअघि नेपाली आन्तरिक उडानमा जेट विमानको प्रयोग कस्मिक एयरले गरेको थियो । 

कस्मिक एयरले सन् २००४ मा चारवटा १०० सीट क्षमताको फोकर कम्पनीको जेट इञ्जिनयुक्त विमानले सेवा दिएको थियो । तर, विभिन्न कारणले यो हवाई कम्पनी सञ्चालन गर्न नसकी टाट पल्टेको थियो । 

अहिले सौर्य र श्रीले प्रयोगमा ल्याएका जेट बम्बाडियरले बनाएको हो । सौर्य एयरलायन्सले सीआरजे–२०० सिरीजका दुईवटा र श्री एयरलायन्सले सीआरजे–२०० र ७०० सिरीजका दुई–दुईवटा जेटहरू गरी ६ वटा जेटहरू नेपाली आकाशमा आन्तरिक हवाई सेवामा सञ्चालन छन् । 

सीआरजे–२०० विमानहरू ५० सीटका हुन् । त्यस्तै, सीआरजे–७०० भने ७० सीटको क्षमताका जहाज हुन् । क्यानडियन विमान निर्माता कम्पनी बम्बाडियरका अत्याधिक सफल तथा एड्भान्स यी जहाजहरू नेपाली ठूला धावनमार्ग भएका विमानस्थलमा सञ्चालन भइरहेका छन् । 

प्रेसराइज क्याविन भएका बम्बाडियरका विमानहरू ४१ हजार फिटसम्मको उचाईमा उड्न सक्छन् । 

हाल यी विमानहरू भद्रपुर, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज तथा धनगडीजस्ता ठूला धावनमार्ग भएका विमानस्थलहरूकासाथै माउन्टेन फ्लाइटमा उडिरहेका छन् । 

छोटो दुरीमा महंगो लागत

जेटहरु लामो दुरीका लागि उपयूक्त जहाज हुन् । तर, हामीकहाँ काठमाडौंबाट सबैभन्दा लामो दूरी ४८० किलोमिटर टाढा रहेको धनगढी एयरपोर्ट हो, यहाँसम्मको उडानमा यो विमानलाई जम्मा ४४ मिनेट लाग्ने गर्छ । अन्य टर्बोप्रप्स इञ्जिन भएका विमानलाई त्यही दूरी पार गर्न एक घन्टा २० मिनेटसम्म लाग्छ । यस हिसाबले तपाईंलाई छिटो र आरामदायी तरिकाले यात्रा गर्नु छ भने सौर्य र श्री एयरका जहाजमा यात्रा गर्नु उपर्युक्त हुन्छ ।

प्रेसराइज क्याविन भएका बम्बाडियरका विमानहरू ४१ हजार फिटसम्मको उचाईमा उड्न सक्छन् र जेट इञ्जिनको कारण क्याविनमा आवाजको मात्र एकदमै कम आउने गर्छ । 

सन् १९९२ मा पहिलोपटक उडान गरेको सीआरजे सिरीजका विमानमा जनरल इलेक्ट्रीकले तयार गरेको दुईवटा टर्वोफ्यान इञ्जिन रहेका छन्, जसको सहायताले यी विमानहरू ८६० किलोमिटर प्रतिघन्टाको स्पीडसम्ममा उड्ने क्षमता राख्छन् । निकै छिटो उडान गर्न सक्ने यी विमानहरूमा एकदमै आरामदायी सीटको सुविधा रहेको छ । हालैमात्र बम्बाडियरको नयाँ सी–सिरीज प्रोजेक्टमा युरोपको एयरबस कम्पनीले ५०.०१ प्रतिशत लगानी गरेको छ । 

सामान्यतया छोटो दूरीको उडानमा जेट इञ्जिनमा प्रयोग हुने टर्बोफ्यान इञ्जिनभन्दा अरू सामान्य विमानमा प्रयोग हुने टर्बोप्रप्स इञ्जिनको फ्यूल इफिसियन्सी धेरै हुन्छ । टर्बोप्रप्स इञ्जिनको छोटो दूरी तथा कम उचाईमा राम्रो पफर्मेन्स हुन्छ भने लामो दूरी र बढी उचाईमा उड्दा टर्बोफ्यान जडित जेट इञ्जिनको पफर्मेन्स राम्रो हुन्छ । 

नेपालको आन्तरिक हवाई क्षेत्रमा जेटको ब्यवसायिक यात्रा सम्झन योग्य भने छैन । 


Back_to_top