बजाजको नयाँ मोटरसाइकल असोजमा नेपाल आउने, यस्तो हुन सक्छ मूल्य

काठमाडौं । बैशाख अन्तिमसम्म नेपाल ल्याउने तयारी भएको बजाज डोमिनार २५० असोजमा मात्रै नेपाल आउने भएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले दशैं तिहारको अवशर पारेर डोमिनार २५० नेपाल ल्याउने तयारी सुरु गरेको हो ।

‘बैशाख अन्तिममा नेपाल ल्याउने हाम्रो तयारी थियो । तर, कोरोना संक्रमणले नेपाल र भारत लामो समयसम्म लकडाउनमा रहेकाले त्यति बेला काम अगाडि बढाउन सकिएन । अब भने त्यसमा हामीले काम सुरु गरेका छौं । संभवत असोजमा नेपाल ल्याउने छौं’, एचएच बजाज स्रोतले मेरोअटोसँग भन्यो ।

भारतमा निकै राम्रो प्रतिक्रिया पाएको डोमिनार २५० नेपालमा पनि प्रतिक्षित मोडलको रुपमा रहेको छ । यसमा दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएकोले पनि यसले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसको सबल पक्ष हो ।

त्यसैगरि अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर यसमा पाउन सकिने छ । स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेका छन् ।

ड्यूक २५० बाट लिइएको २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ ।
डोमिनार २५० को मूल्य नेपालमा ४ लाख ४० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top