डोङफेङको आधिकारिक बिक्रेता बन्यो एमएडब्ल्यू वृद्धि, नामी ०१ नेपाल ल्याउने

काठमाडौं । एमएब्ल्यू वृद्धि डोङफेङ प्यासेन्जर भेहिकलको आधिकारिक बिक्रेता बनेको छ । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले एमएडब्ल्यूलाई प्यासेन्जर भेहिकल सेग्मेन्टकाे नेपालका लागि आधिकारिका बिक्रेतामा नियुक्त गरेको हो ।

यससँगै एमएडब्ल्यूले डोङफेङको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा ल्याउने भएको छ ।  प्रिमियम इलेक्ट्रीक ह्याचब्याक नामी ०१ को लम्बाइ ४०३० एमएम चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम रहेको छ भने ह्वीलबेस २६६० एमएम छ । १७ इन्चको ह्वील रहेको नामी १ को ग्राउण्ड क्लियरेन्स १७६ एमएम छ ।

यो ईभीमा फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ जस्ता सेग्मेन्ट फस्ट फिचरहरू छन् । ड्यासबोर्डमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, १२.८ इन्चको सेन्ट्रल स्क्रीन छ । जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर–द–एयर अपडेट फिचर सहितको हो । यसमा स्पोर्टी टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्वील छ । पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध छ । जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ ।

यसमा ४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । यसले ४३० किलोमिटरको एनईडीसी रेन्ज दिन्छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

एमएडब्ल्यूले नेपाली बजारमा नामी ०१ को अधिकतम मूल्य ३९ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको हो । अहिले भन्सार प्रयोजनको लागि तोकिएको यो मूल्य पछि बजारमा बिक्री सरू हुँदा भने केही घट्ने अपेक्षा गरिएको छ ।


Back_to_top