काठमाडौं । विद्युतीय बस अहिलेको पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीको तुलनामा लागत सस्तो र भरपर्दो रहेको बताएका छन् । उनले नेपालको सन्दर्भमा विद्युत्तीय सवारी भरपर्दो, गुणस्तरीय, र ध्वनी र वायु प्रदुषण कम गर्ने उपयोगी यातायात क्षेत्र रहेको बताएका हुन् ।
ऊर्जा सम्मेलन, २०१९ को दोस्रो दिन ‘आयोजना विकास तथा नविनतम’ को पहिलो सत्रको प्रस्तुतीकरणमा उनले यस्तो बताएका हुन् । अहिले झन्डै ७० प्रतिशत सार्वजनिक यातायात पेट्रोल र डिजेलबाट मात्रै सञ्चालन भएकाले विद्युत्तीय सवारी अहिलेको सवैभन्दा भरपर्दो र राम्रो माध्यम हुने उनले बताए ।
पेट्रोल तथा डिजेलबाट चल्ने सवारीका कारण सडक तथा वातावरणमा ध्वनी तथा वायु प्रदुषण बढेको भन्दै त्यस्को न्युनीकरण गर्न नेपाल सरकारले पनि विद्युत्तीय बस सञ्चालमा जोड दिएको बताए । ‘सरकारले साझा यातायात लिमिटेडलाई ३०० विद्युत्तीय बस सञ्चालन गर्न बजेट छुट्याएको छ’ उनले भने, ‘अब सवैको ध्यान विद्युत्तीय सवारीमा हुनुपर्छ । विद्युत्तीय सवारीले देशको अर्थतन्त्रको विकास र पर्यावरण संरक्षणमा भूमिका खेल्नेछ ।’ उनले सरकारले पूर्वाधार संरचना बनाएर सार्वजनिक यातायातलाई व्यवस्थित गर्न चाहेको उल्लेख गरे ।
देशमा उत्पादन हुने बिजुलीको खपत बढाउन गर्न पनि विद्युत्तीय सवारी पहिलो आवश्यकता रहेको उनको भनाइ थियो । सरकारले दश बर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । चालू आर्थिक बर्षमा मात्रै ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित एकहजार मेगावाट आयोजना राष्ट्रिय ग्रीडमा थपिने प्राधिकरणको प्रक्षेपण छ ।
स्वदेशमै उत्पादन हुने बिद्युत्को खपत र बजारका लागि सरकारले विद्युत्तीय सवारीमा जोड दिएकाले साझा यातायात त्यसअनुसार नै अघि बढेको उनको भनाइ थियो ।
दिक्षितले काठमाडौं उपत्यकामा बिजुली बस सवैभन्दा उत्तम विकल्प रहेक बताए । बिजुली बस सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थको आयातबाट हुने घाटा कम हुने उनको भनाइ थियो । उत्पादित विद्युत्ले खाना पकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने हुँदा व्यापार घाटा कम हुने उनले जानकारी दिए ।


