काठमाडौं । विद्युतीय सवारीको उत्पादन व्यापक रुपमा विस्तार भएसंगै यस क्षेत्रको दक्ष जनशक्ति भने अभाव देखिएको छ । विज्ञतासहितको इन्जिनियरहरु भारतको विद्युतीय उद्योगमै चरम अभाव रहेको कम्पनीहरुले बताएका छन् ।
अहिले भारतीय सवारी उद्योगमा ५ हजार इलेक्ट्रो मेकानिक इन्जिनियरको माग रहेको छ । भारतको विद्युतीय सवारी उद्योगमा हाल १ हजार इन्जिनियरले काम गरि रहेको छन् ।
आगामी २ वर्षमा विद्युृतीय सवारी उद्योगमा १५ हजार इलेक्ट्रोनिक इन्जिनियरको माग हुने अनुमान गरिएको स्टाफिङ कम्पनी टिमलिजले जनाएको छ । हाल भारतीय अटो उद्योगमा इभी र इभी रिलेटेड काममा करिब १ हजार जनाले मात्र काम गरि रहेका छन् ।
टाटा मोटर्स, मर्सिडिज बेन्ज, महिन्द्रा एन्ड महिन्द्रा र मारुती सुजुकीले मुख्य इन्जिनियरिङ इन्स्टिच्युटसँग समन्वय गरेरै इभी प्रविधिबारे काम गर्न थालेका छन् । टाटा मोटर्सले आफ्नै हिसाबले इभी एक्सपर्ट उत्पादनमा जोड दिइरहेको छ । “इभीका लागि राम्रो दक्षता भएका मानिस छनोट गर्न निक्कै चुनौतीको विषय बनेको छ,” महिन्द्रा एन्ड महिन्द्राका चिफ पिपल अफिसर राजेश्वर त्रिपाठीले भने, “इभी अहिलेको इमर्जिङ उद्योग हो । जनशक्ति तथा उत्पादन दुवैको माग उच्च हुनेछ ।” यसले दक्ष जनशक्तिको माग बढ्ने देखिएको उनको भनाइ छ ।
आगामी दुई वर्षमा विद्युतीय सवारीका प्राविधिकहरुको माग तीन गुणाले बढ्ने अनुमान गरिएको छ । तर प्राविधिक उत्पादन भने दोब्बरले मात्र हुने देखिएको छ । सबै जसो सवारी उत्पादकहरु विद्युतीय सवारीमा केन्द्रीत भएकाले उद्योगमा दक्ष जनशक्तिको अभाव देखिएको हो ।


