जापानको टु–ह्वीलर निर्माता कम्पनी यामाहाले अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गर्दै इलेक्ट्रीक उत्पादनलाई जोड दिएको छ ।
यामाहा मोटर्स रिसर्च तथा डेभलभमेन्ट इन्डिया यामाहा मोटर कर्पाेरेसन वाईएमसीको एकाई ‘आर एन्ड डी’ सँग सहकार्य गर्दै ईभी उत्पादनमा केन्द्रित भएको हो । कम्पनीले भारतीय बजारामा मात्रै नभई उत्पादित स्कुटर तथा मोटरसाइकललाई संसारभर बिक्री गर्ने जनाएको छ ।
भारतका लागि यामाहा मोटर रिसर्च एवं विकास केन्द्रका म्यानेजिङ डाइरेक्टर यासुओ इसिहाराले इलेक्ट्रीक सवारीसाधन निर्माण गर्ने जानकारी दिएका हुन् । अटोकार प्रोफेसनलको जानकारीअनुरुप जापान, इन्डियालगायत विभिन्न देशका १०० बढी इञ्जिनियर ईभी प्लाटफर्ममा लागिपरेका छन् ।
ईभी मोडलका सवारीसधानको प्रयोग बढाउने उद्देश्यसहित सरकारलाई दबाब दिँदैआएको वाईएमआरआईले यसलाई मुख्य कामको रुपमा लिएको छ । जापानी टु–ह्वीलर निर्माता कम्पनी सुजुकीले समेत २०२१ मा सार्वजनिक गर्ने उद्देश्यसहित ई–स्कुटर निर्माण गरिरहेको छ ।
यामाहाले भने पहिलो इलेक्ट्रीक सवारी निर्माणका लागि कम्पनीले विभिन्न कम्पनीसँग सहकार्य गर्ने बताएको छ ।
कम्पनीले हालैमात्रै ताइवानको इलेक्ट्रीक मार्केटबारे अध्ययन गरेको बताएको छ । इशिहारा भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गर्दै नयाँ मोडल निर्माण गर्ने योजनामा छौँ । उत्पादित मोडल भारतमा मात्र नभई अन्य देशमा समेत निर्यात गर्नेछौँ ।’ साथै, ‘आर एन्ड डी’ टिम ब्याट्री स्वापिङ मोडलको निर्माणमा केन्द्रित हुने उनले बताए ।
भारत सरकारले बीएसभीआई इमिसन कानुनलाई कार्यान्वयन गर्ने निर्णय गरेसँगै भारतको स्थानीय ब्रान्ड मोटोकर्प, बजाज अटो, टीभीएस मोटर कम्पनी र रोयल इनफिल्डसमेत इलेक्ट्रीक टु–ह्वीलर्स निर्माणमा लागि परेका छन् ।
सुजुकीको लागि भारतको आधिकारीक वितरक सुजुकी मोटरसाइकलले समेत इलेक्ट्रीक टु–ह्वीलर्स उत्पादनमा लाग्ने तयारी गरेको छ । कर्नाटकस्थित बेङ्ग्लुरु प्लान्टमा ईभी निर्माण गरिरहेको अथर इनर्जीले सन् २०२० सम्ममा देशभरका १२ सहरमा ब्रान्डको उत्पादन गर्ने योजना बनाएको छ ।

