ईभी आयात फागुनमा २७६ यूनिट, सर्वाधिक धेरै एटो-थ्री एड्भान्स

काठमाडौं । विद्युतीय सवारीसाधनको आयात फागुन महिनामा खुम्चेको छ । माघमै मूल्य बढ्ने हल्लासँगै कम्पनीहरुले पुस र माघमा धेरै गाडी आयातगर्दा फागुनमा २७६ यूनिटमा खुम्चेको हो ।

फागुनमा साना ठूला सबै किसिमका विद्युतीय कारको आयात घटेको छ । तर, बीवाइडीको एटो-थ्री एड्भान्स मोडलको आयात भने राम्रो संख्यामा भएको छ । कुल ईभी आयातको ५० प्रतिशत एटो-थ्री एड्भान्स भएको देखिन्छ ।

फागुनमा साइमेक्स इंकले १३७ यूनिट ५० किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडल ल्याएको हो । यसका अलवा कम्पनीले एटो-थ्रीको सुपेरियर र डल्फीन मोडल ल्याएको छैन ।

भन्सारले सार्वजनिक गरेको तथ्यांक अनुसार ५० किलोवाटभन्दा कम मोटर क्षमताको ३५ यूनिट सिट्रोन इसीथ्री आयात भएको छ । अन्य मोडलको आयात २० यूनिट छ ।

समग्रमा चालु आर्थिक वर्षको ८ महिनामा ६ हजार ४३५ यूनिट चार पाङ्ग्रे विद्युतीय सवारीसाधन नेपाल आएका छन् ।


Back_to_top