काठमाडौं । मोटरसाइकलमा वार्षिक मर्मत खर्चको स्कीम आउन थालेका छन् । नेपालमा मोटरसाइकल बिक्री गर्दै आएका मुख्य ब्राण्डहरुले ग्राहकहरुलाई वार्षिक सर्भिस स्कीम बिक्री गर्न थालेका हुन् ।
वार्षिक स्कीम ल्याउने कम्पनीहरुमा बजाज, यामाहा, टीभीएस र होन्डा रहेका छन् । यी चार ब्राण्डले नै नेपालमा सबैभन्दा धेरै दुई पाङ्ग्रे साधन बिक्री गर्दै आएका छन् ।
कम्पनीहरुले मोटरसाइकल तथा स्कुटरमा फ्रि सर्भिस सकिएका ग्राहकहरुलाई लक्षित गरेर वार्षिक मर्मत स्कीम ल्याएका हुन् ।
यस्तो स्कीममा ग्राहकले केही रकम तिरेर वार्षिक रुपमा विभिन्न छुटमा सर्भिस गर्नुका साथै पार्टस् तथा इन्जिन आयलहरुमा छुट पाउन सक्नेछन् ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ल्याएको स्कीममा ग्राहकले ५२ प्रतिशत कम खर्चमा वार्षिक मर्मत योजना लिन सक्नेछन् ।
कम्पनीका अनुसार सामान्य रुपमा २ हजार ७१२ रुपैयाँ मर्मत खर्च लाग्नेमा यो योजनामा ग्राहकले १ हजार ३०० रुपैयाँ तिरेर सहभागी हुन सक्नेछन् ।
यो योजनामा सहभागी ग्राहकले ५ वटा सर्भिसिङ निःशुल्क पाउने छन् । त्यस्तै स्पेयर पार्टस्मा ८ प्रतिशतसम्म छुुट पाउने छन् । यसका अलावा लेवर चार्जमा २५ प्रतिशत छुटसँगै ४ वटा निःशुल्क मोटरसाइकल धुन पाउने छन् ।
अर्को सफल ब्राण्ड होन्डाका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले १ वर्षे, ३ वर्षे र ५ वर्षे सर्भिस स्कीम ल्याएको छ ।
कम्पनीको १ वर्षे मर्मत स्कीम लिन चाहने ग्राहकले १ हजार ४०० रुपैयाँ तिर्दा ४ वटा निःशुल्क सर्भिस, ८ पटक निःशुल्क मोटरसाइकल वास, २५ प्रतिशत लेवर चार्जमा छुट तथा स्पेयर पार्टस्मा ५ प्रतिशत छुट पाउने छन् ।
त्यसैगरी ३ वर्षे स्कीममा २४ वटा बाइक वास, १२ सर्भिस निःशुल्क, ६ महिना इन्जिन वारेन्टी, ७ प्रतिशत स्पेयर पार्टस्मा छुट तथा लेवर चार्जमा ४० प्रतिशत छुट पाउने छन् । यसमा ग्राहकले ४ हजार १०० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
स्याकार ट्रेडिङले ५ वर्षे स्कीममा ग्राहकले ६ हजार रुपैयाँ तिरेर ६ महिना थप इन्जिन वारेन्टी, ४० वास, २० फ्रि सर्भिस, ५० प्रतिशत लेवर चार्ज छुट, १० प्रतिशत स्पेयर पार्टस्मा छुट लगायतका सुविधा दिएको छ ।
वार्षिक मर्मत योजनामा सहभागी ग्राहकलाई टोइङको सुविधा तथा मर्मतमा प्राथमिकता दिने समेत कम्पनीले जनाएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले वार्षिक मर्मत योजनामा सहभागी हुने ग्राहकलाई ३ वटा निःशुल्क वासिङ दिएको छ । साथै, ४ निःशुल्क सर्भिस, पार्टस्मा १० प्रतिशत छुट, इन्जिन आयलमा ७ प्रतिशत छुट, २ पटक इन्जेक्टर क्लिनिङ्ग तथा लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यो स्कीममा सहभागीले १ हजार २०० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनी जगदम्वा मोटर्सले १ हजार ७०० रुपैयाँ लिएर वार्षिक मर्मत स्कीम उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले यो स्कीममा सहभागी ग्राहकलाई ६ वटा सर्भिस निःशुल्क उपलब्ध गराउँछ । साथै, ३ वटा वास निःशुल्क, स्पेयर तथा इन्जिन आयलमा १० प्रतिशत छुट तथा दुई पटक सामान्य रिपेयर निःशुल्क उपलब्ध गराउँने जनाएको छ ।


