इलेक्ट्रीक मोटरसाइकल र स्कुटरमा प्रदेश सरकारले लगायो वार्षिक कर

काठमाडौं । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट मार्फत विद्युतीय सवारी साधनमा कर बढाएर आलोचित भएको केही समयमा नै प्रदेश सरकारले विद्युतीय दुईपाङ्ग्रे सवारी साधनमा वार्षिक दस्तुर लगाएको छ । यसअघि विद्युतीय सवारी साधनमा कुनै वार्षिक कर लगाएको थिएन ।

भोलिबाट सुरु हुने आर्थिक वर्ष २०७७/७८ बाट लागु हुनेगरि प्रदेश सरकारले इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा कर बढाएको हो ।

केन्द्र सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको करमा व्यापक वृद्धिगरेसँगै प्रदेश सरकारलेपनि कर लगाएको हो ।

उपत्यका सहितको बागमती प्रदेशले मोटरसाइकल तथा स्कुटरको मोटर क्षमता अनुसार नै कर लगाएको हो । अब ३५० वाटदेखि १ हजार वाटसम्मकोे मोटर जडान भएको स्कुटर तथा मोटरसाइकलले १ हजार ५ सय रुपैयाँ वार्षिक कर तिर्नु पर्ने छ ।

त्यसैगरि १००१ देखि १५०० वाट क्षमताका सवारी साधनले वार्षिक २ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । १५०१ वाटभन्दा माथि क्षमताको मोटर जडान भएका सवारी साधनले वार्षिक ३ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


Back_to_top