७० हजारदेखि किन्न सकिन्छ इलेक्ट्रीक स्कुटर, यस्तो छ १० स्कुटरको मूल्य

काठमाडौं । नेपाली बजारमा ७० हजारदेखि ४ लाखसम्म पर्ने इलेक्ट्रीक स्कुटर विक्री हुँदै आएको छ । सरकारले विक्रम संम्बत २०८८ सम्ममा नेपालमा विद्युतीय सवारी साधन मात्रै विक्री गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत विद्युतीय सवारी साधनको करमा परिमार्जन गरेसँगै नयाँ नयाँ ब्राण्ड आउने क्रम जारी रहेको छ ।

परिमार्जित करमा दुई पाङ्ग्रे सवारी साधनमा सडक निर्माण दस्तुर वापत सरकारले लिदै आएको शुल्कमा २ हजार रुपैयाँ घटाएको छ । यसअघि प्रति साधन १२ हजार रुपैयाँ सडक निर्माण दस्तुर लिदै आएकोमा अब १० हजारमात्र लाग्ने छ ।

पछिल्लो एक वर्षमा दर्जनौ इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन नेपाल आएका छन् । केही ब्राण्ड नेपाल आउने क्रममा रहेका छन् । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा स्कुटरको हिस्सा निकै ठूलो रहेको छ ।

अहिले बजारमा उपलब्ध विभिन्न ब्राण्डका १० स्कुटरको मूल्य र रेञ्ज हामीले यहाँ उल्लेख गरेका छौं ।

१. एनआइयू एन सिरिज

एनआइयू स्कुटर नेपालमा विक्री हुने पुरानो ब्राण्ड हो । यसका एन सिरिज स्कुटर नेपालमा धेरै विक्री हुने स्कुटरमा पर्छ । एनआइयू एन सिरिजमा लिथियम आयोन पानाशोनिक ब्याट्री दिइएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसको मूल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

२. टेल्जी लियोपार्ड

अघिल्लो वर्षको लकडाउनमा नेपाल प्रवेश गरेको टेल्जी ब्रान्ड छोटो समयमा नै लोकप्रिय हुँदै गएको छ । कम्पनीले सन् २०२० मा आयात गरेको तथ्यांक अनुसार टेल्जी धेरै इलेक्ट्रीक स्कुटर आयात गर्नेमा दोस्रो कम्पनी बनेको थियो ।

कम्पनीले केही समय अगाडि मात्रै नेपालमा टेल्जी लियोपार्ड स्कुटरको विक्री सुरु गरेको हो । यो स्कुटर ग्राहकले धेरै रुचाइएको पाइएको छ । कम्पनीका अनुसार टेल्जी लियोपार्ड सबैभन्दा धेरै विक्री हुने इलेक्ट्रीक स्कुटर बन्न सफल भएको हो । यो स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ ।

३. सुपर सोको सीयूएक्स

सुपर सोकोले नेपालमा हालै मात्र विक्री सुरु गरेको सुपर सोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किमिको रेञ्ज दिन्छ । यो स्कुटरको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । सुपर सोकोलाई आधिकारिक रुपमा हालैमात्र डि–लाइफ स्टाइलले नेपालमा विक्री सुरु गरेको हो ।

४. प्योर इभीको ई-प्लुटो ७ जी

प्योर इभीको ई-प्लुटो ७ जीमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई-प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ ।

साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा विक्री भइरहेको छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ । कम्पनीले ई प्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

५.याडिया जी फाइभ

नेपाली बजारमा हालैमात्र भित्रिएको याडिया ब्रान्डका स्कुटर युरोपियन स्ट्यान्डर्डका रहेका छन् । कम्पनीले नेपाल ल्याएको जी फाइभ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ । यो स्कुटरको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

पानाशोनिकको लिथियम आयोन व्याट्री प्रयोग भएको यो स्कुटरलाई एक पटकको फुल चार्जमा ६० देखि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसलाई घरायसी बिजुलीमा चर्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । जी फाइभ स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । कम्पनीले निषेधाज्ञा पछि विक्री सुरु गर्ने भएको हो । याडियाका स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

६.एनआइयू जिओ ३

एनआइयू जिओ ३ केही दिन भित्र नै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले हाल यसको बुकिङ लिइरहेको जनाएको छ ।
यो स्कुटरमा २.७ किलोवाटको मोटर जडान गरिएको छ । यसमा ६० भोल्ट ४० एम्पियरको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई फुल चार्ज गर्न ५ घन्टा लाग्छ भने, यसले ९० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो स्कुटर प्रतिघन्टा ६० किलोमिटरको गतिमा गुड्न सक्छ । एनआइयू गोभा जिओ-३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

७.लेभ्निङ एक्स-१
लेभ्निङ एक्स-१ मा २.०२ किलोवाटको मोटर प्रयोग भएको छ । यसमा ६० भोल्ट २० एम्पीयर आवरको सामसुङको पोर्टएवल लिथियम आयोन व्याट्री प्याक दिइएको छ । जसलाई ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यी स्कुटरमा ड्युअल ब्याट्री अप्सन रहेकोले १६० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । एक्स-१ को मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको छ ।

८. टेल्जी लायन

टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ४० किलोमिटर प्रतिघन्टा रहेको छ । टेल्जी लायन स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

९.ल्युयान एमएनके३

ल्युयान एमएनके ३ स्कुटरमा १५०० वाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट ३२ एम्पीयर २.१६ किलोवाट क्षमतको ब्याट्री रहेको छ । यो ब्याट्री फास्ट चार्जर मार्फत एक पटक फुल चार्ज गर्न ३ घन्टामात्र लाग्ने कम्पनीको दावी छ । एक पटकको फुलचार्जमा यो स्कुटरलाई ८५ किलोमिटरसम्म चलाउन सकिने छ । यो स्कुटरको अधिकतम मूल्य १ लाख ५३ हजार ९९९ रहेको छ ।

१०.डिटेल इजी प्लस

नेपालमा उपलब्ध सबैभन्दा सस्तो इलेक्ट्रीक स्कुटर डिटेल ब्रान्डको रहेको छ । कम्पनीले निषेधाज्ञा पश्चात विक्री गर्ने तयारी गरेको यो स्कुटरको मूल्य ७० देखि ८० हजार रुपैयाँसम्म पर्ने जनाएको छ । डिटेल इजी प्लसमा ३५० वाटको मोटर र २० एम्पीयरको लिथियम आयन ब्याट्री प्याक रहेको छ । यसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेन्ज दिने कम्पनीको दावी रहेको छ । यो स्कुटर ओपल मल्टि नेशनल प्रालिले विक्री गर्ने भएको हो ।


Back_to_top