चम्कदै इलेक्ट्रीक माइक्रो भ्यान, यस्तो छ ब्राण्ड अनुसारको बिक्री

काठमाडौं । सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने विषयमा धेरै कोणबाट बहस चलिरहेकै समयमा मासिक ४० यूनिट विद्युतीय माइक्रो बस बिक्री हुन थालेको छ ।

चलाउन सजिलो, संचालन खर्च कम र प्यासेन्जरलाई यात्रा गर्न पनि सहज भएको कारण यसको बिक्री ब्यापक वृद्धि भएको बिक्रेताहरुको भनाइ छ । अहिले इलेक्ट्रीक माइक्रो भ्यान देशका हरेक क्षेत्रमा गुड्न थालेको पाइन्छ ।

सन् २०२३ को १० महिनामा ४९८ यूनिट माइक्रो बस आयात भएको भन्सार तथ्यांकले देखाएको छ । जेठ १५ गते बजेट सार्वजनिक हुनु अघि पनि ठूलो संख्यामा माइक्रो भ्यानहरु आयात भएका थिए ।

अहिलेको आयातलाई औषत गर्दा र बाटोमा माइक्रो भ्यानको संख्या हेर्दा लाइट कमर्शियल सेग्मेन्टमा ११ देखि १५ सिट क्षमताका भ्यानले निकै राम्रो ब्यापार गर्न थालेको अनुमान लगाउन सकिन्छ ।

१० महिनाको अवधिमा सबैभन्दा धेरै माइक्रो भ्यान केवाइसी ब्राण्डले आयात गरेको छ । सिजी मोटर्सले नेपाल ल्याएको केवाइसी २०० यूनिट आयात भएको देखिन्छ । साथै, सिजीले नै नेपाल ल्याउने किङलङ ब्राण्डका भ्यान पनि १४० यूनिट आयात भएको देखिन्छ ।

नेपालमा इलेक्ट्रीक भ्यानको सुरुवात गराउने ब्राण्ड दिगोले डाँफेको आयात ६६ यूनिट मात्रै गर्न सफल भएको छ । डाँफेलाई पच्छाई रहेका फोटोले ४६ यूनिट आयात गरेको देखिन्छ ।

पुजा कन्ट्रक्सनले नेपालमा बिक्री गर्ने साइनरे  एसआरएमका माइक्रो भ्यान समान ४६ यूनिट आयात भएको देखिन्छ ।

विशेषगरी स्कुल, कलेज र ३०० किलोमिटरसम्म दुरी भएका स्थानमा यस्ता इलेक्ट्रीक माइक्रो बसहरु संचालनमा छन् । काठमाडौं–ओखलढुङ्गा, काठमाडौं–गाइघाट, काठमाडौं–पोखरा, काठमाडौं–चितवन, चितवन–हेटौंडा, चितवन–बुटवल, बुटवल–दाङ, हेटौंडा–जनकपुर, जनकपुर–विराटनगर जस्ता रुटमा यी माइक्रो भ्यान संचालनमा छन् ।


Back_to_top