तपाईको विद्युतीय कारमा कम्पनीले भनेकै ब्याट्री साइज किन हुँदैन ?

काठमाडौं । इलेक्ट्रीक गाडीहरुको मुख्य कम्पोनेन्ट ‘हाइ भोल्टेज ब्याट्री’ पूर्ण चार्ज गर्न र डिस्चार्ज गर्न सकिदैन भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । यस्ता ब्याट्री १०० प्रतिशत चार्ज र पुरै डिस्चार्ज गर्ने हो भने ब्याट्रीको लाइफ तिब्र गतिमा घट्न सक्छ ।

त्यसैले कम्पनीहरुले केही प्रतिशत ब्याट्री बफर जोनको रुपमा राखेका हुन्छ । त्यहि कारण ब्याट्रीको क्षमता १०० किलोवाट आवर भनेपनि प्रयोग योग्य क्षमता भने १०० किलोवाट आवर हुँदैन ।

अमेरिकामा गरिएको एक रिसर्चका अनुसार २०२३ मोडल मिनी कुपर एसइमा ३२.६ किलोवाट आवरको ब्याट्री प्याक भनेपनि यसको प्रयोग गर्न मिल्ने साइज २८.९ किलोवाट आवर मात्र छ । यसमा ३.७ किलोवाट आवर ब्याट्री बफर राखिएको हो ।

त्यस्तै बीएमडब्लु आई-७ मा १०५.७ किलोवाट आवरको ब्याट्री प्याक भनेपनि प्रयोग गर्न मिल्ने १०१.७ किलोवाटको मात्र हो । यसमा ४ किलोवाटको बफर राखिएको छ ।

त्यसो भए के कम्पनीले झुक्याई रहेको छन् त ? भन्ने प्रश्न आउन सक्छ । ठ्याक्कै त्यस्तो चाहिँ होइन । ब्याट्रीको साइज जती लेखिएको हो, त्यतिनै हुन्छ । तर, पुरै प्रयोग गर्न सकिने कि नसकिने भन्ने चाहिँ कम्पनी अनुसार फरक फरक हुन्छ ।

कतिपय कम्पनीले ग्राहकलाई भनेको व्याट्रीको साइज प्रयोग गर्न मिल्ने आधारमै छन् । तर, कुनै कुनै कम्पनीले भने प्रयोग गर्न मिल्नेभन्दा पनि ब्याट्रीको साइजलाई महत्व दिएको पाइन्छ ।

ईभी डाटावेस ओआरजीका अनुसार नेपालमा बिक्री भइरहको बीवाइडी एटो-३ कम्पनीले ६०.५ किलोवाट आवर क्षमताको ब्याट्री छ भन्छ । तर, यसमा त्योभन्दा पनि ठूलो ६२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसमा दिइएको १.५ किलोवाट आवर ब्याट्री ‘बफर’ राखेको देखिन्छ ।

त्यस्तै, सेरेस-३ मा ग्रस ५३.६ किलोवाट आवरको ब्याट्री छ । तर, कम्पनीले यसमा रहेको ५१ किलोवाट आवर भनेर उल्लेख गरेको छ । जुन साइज पूर्णत प्रयोग गर्न सकिन्छ । यसमा पनि २.६ किलोवाट बफर राखेको देखिन्छ ।

त्यस्तै, नेपालमा बिक्री भइरहेको हुन्डाई कोनामा पनि ग्रसमा ४२ किलोवाट आवरको ब्याट्री छ । कम्पनीले यसमा २.८ किलोवाट आवर बफर राखेर प्रयोग गर्न मिल्ने ३९.२ किलोवाट अवार भनेको हो ।

टेस्लाको मोडल वाईमा पनि ७५ किलोवाट आवरको ब्याट्री प्याक भनिन्छ । तर, यसमा पनि वास्तविक ७८.१ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

एमजीले जेडएस ईभीमा भने ५१.१ किलोवाट अवारको ब्याट्री प्याक भन्छ । तर, यसमा प्रयोग गर्न मिल्ने ब्याट्री साइज ४९ किलोवाट आवर मात्रै हो । यसमा २.१ किलोवाट अवार बफर राखेको देखिन्छ ।

एमजी फोरमा पनि ६४ किलोवाट आवर क्षमताको ब्याट्री भनिएपनि प्रयोग गर्न मिल्ने ब्याट्री ६१.७ किलोवाट आवर मात्रै हो । एमजी-४ लग्जरीमा २.३ किलोवाट आवर ब्याट्री बफरको रुपमा दिइएको छ ।

यसरी ईभीमा भन्ने एउटा र दिने अर्को ब्याट्रीको मुख्य कारण तोकिए अनुसार रेन्ज दिनु हो । साथै, पुरै डिस्चार्ज नहोस् भनेर पनि कम्पनीहरुले यस्तो गर्छन् । कहिले कहि ब्याट्री पुरै सकिएको समयमा पनि थप केहि किलोमिटर यात्रा गर्न सकिने बनाउन कम्पनीहरुले यसो गर्छन् ।

त्यसैले गाडीको ड्यासबोर्डमा जीरो प्रतिशत चार्ज देखाएपनि बफरका कारण केहि चार्ज बाँकीनै रहेको हुन्छ । ब्याट्री सकिएता पनि बीएमएसले काम गरिरहनु पर्ने हुन्छ । साथै, ब्याट्री सेलललाई ड्यामेज हुनबाट बचाउन र पुनः ब्याट्री प्याकलाई चार्ज गर्न पनि यस्तो जुक्ती लगाएको हुन सक्छ ।


Back_to_top