काठमाडौं । पछिल्लो दुई साता भित्र अटोमोवाइल बजारमा भइरहेका घटनालाई नियाल्ने हो भने ईभीको विक्रीमा ब्रेक लाग्न खोजेको भान हुन्छ । कुनै समय सप्लाईमा समस्या रहेको भन्दै ६ महिनासम्म ग्राहकले ईभी कुरेर बस्नु परेको थियो । तर, पछिल्ला दुई हप्ताको गतिविधिलाई नियाल्दा मात्रै पनि ईभी विक्री गर्ने कम्पनीहरु आफ्नो पुरानै ढर्राको गतिविधिमा लागेको देखिन्छ ।
ईभी विक्री गर्ने हुन्डाई, टाटा, नेटा जस्ता ब्राण्डले ईभीमा एक्स्चेन्ज स्कीम चलाइरहेका छन् । उनिहरुले कुनै पनि ब्राण्डको पुरानो कम्बस्चन गाडी ल्याएर विक्री गरी ईभी किन्नेलाई विशेष सहुलियत प्रदान गर्न थालेका हुन् ।
ईभीको विक्री सुरु गर्दा टाटा र एमजी जस्ता ब्राण्डले नो डिस्काउन्ट पोलिसी लिएका थिए । तर, अहिले स्कीम चलाएर टाटाले पुराना गाडी ल्याएर नेक्सन ईभी किन्नेलाई विशेष अफर दिएको छ ।
हुन्डाईले पनि आफ्नो कोना ईभीको पुरानो भर्सन ल्याएर विक्री गर्नेलाई कम्तीमा ४० लाख रुपैयाँ मूल्याङ्कन दिने स्कीम चलाई रहेको छ । हुन्डाईले ईभी ल्याएर नयाँ आयोनीक फाइभ वा कोना ईभी साट्नेलाई आफै पुरानो गाडी कम्तीमा ४० लाख रुपैयाँ किनिरहेको छ ।
करिब एक वर्ष अघिबाट चर्चा सुरु भएको नेटा भीले पनि अहिले एक्स्चेन्ज स्कीम लगाई रहेको छ । कम्पनीले पनि कुनै पनि पुरानो ईभी ल्याएर नयाँ नेटा भी एक्स्चेन्ज गर्न दिइरहेको हो ।
बढ्दो प्रतिस्पर्धा घट्दो ग्राहक
अहिले ईभी सेग्मेन्टमा दिन प्रतिदिन प्रतिस्पर्धा बढिरहेको छ । बीवाइडी, टाटा, एमजी, नेटा, महिन्द्रा लगायतका ब्राण्ड ईभीमा ठूलो प्रतिस्पर्धा गर्न तयार बन्दै गएको समयमा बजार प्रेजेन्स देखाउन पनि कम्पनीहरु तिब्र प्रतिस्पर्धामा छन् ।

विगत १४ महिनादेखि निरन्तर ओरालो लागेको आर्थिक सूचकको कारण गाडी उपलब्ध भएपनि ग्राहक पाउन सकेका छैनन् । मानिसको आम्दानी संकुचन हुनु, ब्याजदर निकै महंगो बन्नु र बैंकले कर्जा दिन नसकेको कारण नै कम्पनीहरुले गाडी विक्री गर्न पाएका छैनन् ।
सबै कम्पनीले क्रमिक रुपमा ईभीको उत्पादन बढाएका छन् । यसरी उत्पादन बढ्दा सप्लाईमा कुनै समस्या देखिएको छैन । त्यसैले गाडीको उपलब्धता बढेसँगै कम्पनीहरुले विभिन्न किसिमका स्कीम लगाउन थालेका हुन् ।
हुन्डाईको एक्स्चेन्ज अफर
हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अपग्रेड योर इलेक्ट्रीक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्स्चेन्ज अफर ल्याएको चलाई रहेको छ ।

यस अफर अन्तर्गत ग्राहकले पुरानो कोना ल्याएर न्यूनतम एक्स्चेन्ज मूल्याङ्कन ४० लाख रुपैयाँ पाउने छन् । कम्पनीले देशभर रहेका १७ डिलर र १९ सर्भिस सेन्टर तथा ४० वटा एसी चार्जिङ स्टेशनमार्फत विद्युतीय साधनको लागि वातावरण निर्माण गरिरहेको छ ।
टाटाको ईभी एक्स्चेन्ज अफर
टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले फागुन २६, २७ र २८ गतेको लािग भन्दै चलाएको ‘इलेक्ट्रिफाइङ एक्सचेन्ज’ अफरमा जुनसुकै गाडी ल्याएर ईभीसँग एक्स्चेन्ज गर्न सकिने छ ।

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने गाडी ल्याई टाटाको विद्युतीय कार नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने छ । यसरी सट्टा–पट्टागर्दा चलिरहेको बजार मूल्यभन्दा बढी मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा दिने कम्पनीले जनाएको छ ।
नेटा भीको एक्स्चेन्ज अफर
होजोन मोटर्सको आधिकारीक विक्रेता सिजी मोटर्सले पनि आफ्नो नेटा भी क्रसओभरमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले पनि पुरनो जुनसुकै ब्राण्डको कम्बस्चन गाडी ल्याएर नेटा भीसँग एक्स्चेन्ज गर्न सकिने सुविधा दिएको जनाएको छ । यसरी दिइने सुविधामा मूल्याङ्कन नै आकर्षण हुने कम्पनीको भनाई छ ।

नेटा भी छोटो समयमा नै निकै सफल मोडल मानिन्छ । ३७ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको नेटा भी उत्कृष्ट रेन्जको लागि परिचित मोडल हो । यसले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्छ ।


