काठमाडौं । एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले नयाँ एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन भएको कम्प्याक्ट एसयूभी एस्टर नेपाल ल्याउन लागेको हो ।
विशेषगरी हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक, निसान किक्स र केही दिनअघि मात्रै नेपालमा विक्री सुरु भएको सुजुकी ग्राण्ड भिटारसँग प्रतिस्पर्धा गर्न आउन लागेको एस्टर एआई टेक्नोलोजीमा आधारित थुप्रै फिचर उपलब्ध एसयूभी हो ।
पारामाउन्ट मोटर्सले अघिल्लो वर्ष नै नेपाल ल्याउने तयारी गरेको भएपनि लामो आयात प्रतिबन्धको कारण एमजी एस्टर नेपाल आउन पाएको थिएन । कम्पनीले अहिले आयात प्रतिबन्ध खुलेसँगै यसलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो ।
‘हामीले यसअघि नै एस्टर नेपाल ल्याउन ठिक पारेका थियौं । आयात प्रतिबन्धको कारण आउन पाएन । आयात खुल्ला भएपनि गाडी किन्ने ग्राहकको चासो कम भएका कारण हतार गरेनौं । अब अर्थतन्त्रमा नयाँ खालको चहलपहल आएको त्यसैले चैत अन्तिमसम्ममा नेपालमा विक्री सुरु गर्दैछौं’, पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।
भारतमा एस्टर विभिन्न ९ भेरियन्टमा उपलब्ध रहेको छ । तर, नेपालमा कति भेरियन्ट र कुन मूल्यमा उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । एस्टर दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसमा १.५ लिटर नेचुरल्ली एस्पीरेटेड र १.३ लिटर टर्बो पेट्रोल इन्जिन छनोट गर्न सकिन्छ ।
आर्टिफिसीयल इन्टेलेजेन्ट एआईको प्रयोग भएको एस्टरमा एडप्टीभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट असिस्टेन्स, लेन किप र डिपार्ट असिस्ट जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।

कारमा प्रयोग भएको ब्लुटुथमा आधारित कनेक्टेड कार टेक्नलोजीको सहायताले कारलाई चावी बिना नै मोवाइलबाटै लक÷अनलक गर्ने तथा स्टार्ट समेत गर्न सकिन्छ । साथै, कनेक्टेड कार फङ्सन प्रयोग गर्न मोवाइल नेटवर्कको समेत जरुरत पर्दैन ।
एस्टरको क्याविनमा ‘सफ्टटच’ मेटेरियलको प्रयोग गरिएको छ । ड्यासबोर्डमा १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । प्रिमियम सिट, आकर्षक क्याविन, एम्बीयन्ट लाइट जस्ता फिचरले एस्टरलाई लग्जरी एसयूभी सरह बनाएको छ ।
यसको बाहिरी बनोट पनि निकै आकर्षक छ । ६ कुना भएको युनिक डिजाइनको ग्रिल, बीचमा ठूलो एमजीको लोगो र ठ्याक्कै मुनी फ्रन्ट क्यामरा जडान गरिएको छ । अझ ग्रिलको तलपट्टी अटोनोमस ब्रेकिङका लागि रडार दिइएको छ ।
दुबै साइडमा प्रोजेक्टर हेडल्याम्प तथा माथिपट्टी एलइडी डिआरएल र तल बम्परमा दिइएको फगल्याम्पले यसको अगाडिको भाग निकै आकर्षक बनेको छ । १७ इन्चको डिउलटोन अलोय ह्वील, रियरमा दिइएको एक्जस्ट र स्कीड प्लेटको कम्बिनेसनले जो कोहीलाई लोभ्याउने छ ।

