धमाधम पड्न थाल्यो इलेक्ट्रीक स्कुटर, १० दिनमा ३ वटामा आगलागी

काठमाडौं । भारतको लिडिङ इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माता ओकिनावा र प्योर इभीले बनाएको स्कुटरमा १० दिन भित्र तेस्रो पटक आगलागी भएको छ ।

सुरुमा दुई वटा प्योर इभीको स्कुटरमा आगलागी भएको घटना सार्वजनिक भएको थियो । पछिल्लो आगलागी ग्यारेजमा पार्किङ गरेर चार्ज जोडिएको अवस्थामा ओकिनावाको स्कुटरमा भएको हो । चार्ज गरिरहेको अवस्थामा व्लास्ट सहित भएको आगलागीले स्कुटर पूर्णरुपमा क्षती भएको भएपनि मानवीय क्षती भने नभएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

यसरी १० दिनमा नै ३ वटा स्कुटरमा रहेको व्याट्री सर्ट भएर आगलागी भएपछि भारतीय इलेक्ट्रीक स्कुटरमा गम्भीर प्राविधिक त्रुटी भएको सहज अनुमान गर्न सकिन्छ ।

ओकिनावाका प्रबन्ध निर्देशक जीतेन्द्र शर्माले स्कुटरका ग्राहकलाई सम्पर्कगरी के कति कारणले आगलागी भएको हो भन्ने विषयमा आफुहरुले अनुशन्धान गरिरहेको जनाएका छन् । उनले स्कुटर प्रयोगकर्तामा प्रोडक्ट सम्बन्धी ज्ञानको कमीको कारण गल्तीले आगलागी भएको हुन सक्ने बताए ।

यस अघि पनि प्योर इभीले बनाएका इप्लुटो मोडलको नीलो रंगको स्कुटरमा आगलागी भएको भिडियो बाहिर आएको थियो । उक्त भिडियोमा देखिए अनुसार पार्क गरेको इप्लुटोको सिट मुनीबाट १ मिनेटसम्म धुवा निस्केको र पछि व्याट्री नै पड्कीएर आगलागी भएको थियो । त्यस्तै सोसल मिडियामा आएको अर्को स्कुटर पनि प्योर इभीकै सिल्भर कलरको थियो ।

भारतमा पछिल्ला २ वर्षमा स्टार्टअपको रुपमा उदाएका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन निर्माताहरु सक्रिय रहेका छन् । लिथियम आयोन तथा लिड एसिड व्याट्रीबाट चल्ने इलेक्ट्रीक स्कुटरमा सफ्टवेर तथा सर्किटमा समस्या आउँदा वा व्याट्री ओभर हिटीङ हुँदा आगलागी हुने गरेको छ ।

नयाँ स्टार्टअप कम्पनीहरुमा रहेको अनुभवको कमी र रिसर्च र डेभलपमेन्टमा खर्च गर्ने रकम अभावमा यस्ता किसिमका साधन निर्माण भइरहेको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।


Back_to_top