मारुती सुजुकी र हुन्डाईलाई पछि छाड्ने रणनीतिमा टाटा

काठमाडौं । भारतीय मोटर कम्पनी टाटाले मारुती सुजुकी र हुन्डाईलाई पछि पार्ने रणनीति तयार गरेको छ । पछिल्लो दिनमा भारतीय बजारमा मारुती सुजुकी र हुन्डाई पछि तेस्रो स्थानमा रहेको टाटाले विद्युतीय गाडीको सहायताले भारतमा आफुलाई अब्बल कम्पनी बनाउने रणनीति बनाएको छ ।

यही रणनीतिको हिस्सा अनुसार कम्पनीले थप एक विलियन डलर इभी डेभलपमेन्टमा लगाउने घोषणा गरेको छ । कम्पनीले लगाउने एक विलियन डलरपछि कम्पनीको नेटवर्थ करिब ९.१ विलियन डलर पुग्ने छ । टाटाले नयाँ लगानीको प्रयोग इभी निर्माण र सेमी कन्डक्टरको निर्माण पनि खर्च गर्ने उल्लेख गरेको छ ।

जीपट्रोन टेक्नोलोजीको निर्माण गरेर टाटाले अहिले नेक्सन इभी र टिगोर इभीको उत्पादन गर्दै आएको छ । अबको केही समयपछि नै कम्पनीले अल्ट्रोज र पन्च इभी पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले नयाँ लगानीको योजना अनुसार अबको ५ वर्षमा १० नयाँ इभी बजारमा ल्याउने जनाएको छ ।

भारतमा अहिले इभी सेग्मेन्टमा करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको टाटाले आफुलाई सन् २०२५ भित्र भारतको पहिलो कार निर्माता बनाउने दौडमा समावेश गरेको छ । कम्पनीले बनाउने नयाँ इभी धेरै रेन्ज दिन सक्ने र फरक किसिमको बडीमा निर्माण हुने टाटाले जनाएको छ ।


Back_to_top