काठमाडौं । कुनै समय नेपाली बजारमा जापानी ब्राण्डको प्रभुत्व थियो । टोयोटा, निसान, सुजुकी, माज्दा, सुवरू जस्ता ब्राण्डको लोकप्रियता भेट्न कुनै पनि ब्राण्डले सकेका थिएनन् ।
त्यसपछि क्रमिकरुपमा कोरियाली ब्राण्डको साथमा यूरोपीयन, अमेरिकन र भारतीय ब्राण्डले नेपाल प्रबेश गरे । नेपालमा कुनै समयम टोयोटा र निसानका गाडी सर्वाधिक विक्री हुन्थे । इन्डो–जापानी ब्राण्ड सुजुकीको नेपाल प्रबेशसँगै बजारको हिस्सा परिवर्तन भयो । भारतमा सस्तो मूल्यका कार निर्माणमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल मारुती सुजुकीले नेपाली बजारमा पनि कब्जा जमायो ।
कम मूल्यमा निजी कार र उच्च माइलेज मारुती सुजुकीको मुख्य ध्यये थियो । त्यहि अनुरुप कम्पनीले अल्टो जस्तो कम मूल्यको कार बजारमा ल्यायो । परिणाम मारुती सुजुकीको कब्जामा नेपाली बजार पर्यो । यतिसम्म कि कुनै समय नेपालको ट्याक्सी बजारमा टायोटा कोरोलाको जगजगीलाई मारुती ८०० ले कब्जा नै गर्यो ।
समय क्रममसँगै गाडीको विक्रीमा आएको बढोत्तरीले कोरियन ब्राण्ड कियाले नेपालमा गरिरहेको संघर्षलाई हुन्डाईको आगमनले परिवर्तन गर्यो । हुन्डाइले सन् २००० ताका नेपालमा विक्री सुरु गरेको सेन्ट्रो र टुसानले नेपालको कार बजारलाई अलग बटोमा लगेको थियो ।
अहिले नेपालमा भारतीय ब्राण्ड टाटा र महिन्द्रा जापानी ब्राण्ड टोयोटा, निसान, माज्दा, डाट्सन, सुवरू, इसुजु विक्री हुँदै आएका छन् भने अमेरिकी ब्राण्ड फोर्ड र जीप पनि नेपालमा विक्री हुँदै आएका छन् ।
त्यसैगरी यूरोपिन ब्राण्ड फक्सवागन, स्कोडा, रेनो, प्यूजो, सिट्रोन, बीएमडब्लू, मर्सिडिज, एमजीको विक्री हुँदै आएको छ भने चिनियाँ ब्राण्ड ग्रेटवाल, चेरी, बीवाइडी जस्ता ब्राण्ड विक्री हुँदै आएका छन् ।
इन्डो–जापानी ब्राण्ड मारुती सुजुकी र कोरियन ब्राण्ड हुन्डाई, किया र साङयोङ नेपालमा विक्री हुँदै आएको छ । हुन्डाई र किया अहिले नेपालमा धेरै कार विक्री गर्ने ब्राण्डमा पर्न थालेका छन् ।
किन बढ्दै छन् कोरियन कार
कोरियन कार लग्जरी फिचर, उत्कृष्ट डिजाइन र मूल्यको कारण नेपालमा लोकप्रिय बन्दै गएका छन् । धेरै प्रोडक्ट रेञ्ज, उच्च रिसेल भ्यालू, यात्राको लागि आरामदायी भएकै कारण कोरियन कारको लोकप्रियता बढ्दै गएको छ ।
कोरियन ब्राण्डमा हुन्डाई निकै अगाडि निस्कीएको छ । अहिले नेपालमा विक्री हुने कार ब्राण्डमा हुन्डाई पहिलो स्थानमा रहेको छ भने तेस्रो स्थानको नजिक किया पनि रहेको छ । कोरियन कार नेपालमा २५ लाखदेखि २ करोड २५ लाखसम्म मूल्यमा किन्न पाइन्छ ।

