छैन विद्युतीय सवारी परिक्षणको मापदन्ड, उच्च जोखिममा सवारी साधन र यात्रु

काठमाडौं । यातायात व्यवस्था विभागले उचित मापदन्ड बनाउन नसक्दा विद्युतीय सवारी साधान सामान्य परिक्षण भएकै आधारमा संचालनमा आउने गरेका छन् । विभागले, विद्युतीय सवारीको अवस्था तथा चेक जाँचको निश्चित निर्देशिका नबनाउदा उक्त अवस्था निम्तिएको हो ।

सवारी परिक्षणको जिम्मेवारी पाएको टेकु स्थित सवारी परिक्षण केन्द्रले विभागलाई निर्देशिका निर्माणको लागि पटक–पटक ताकेता गरेको जनाएको छ ।

केन्द्रका प्रमुख रामचन्द्र पौडेल के आधारमा परिक्षण गर्ने भन्ने निश्चित नहुँदा सामान्य उकालो ओरालो चढाएकै भरमा सवारी चेकजाँच गर्नु परेको बताउँछन् ।

‘जुनसुकै विद्युतीय सवारी साधनको परिक्षण एकै हिसाबमा गरिन्छ । उकालो/ओरालो सडकमा कसरि गुड्छ भन्ने आधारमा सवारी पास वा फेल भएको निक्र्याेल गरिन्छ । यहाँ, फेल भएका सवारी तराईका सडकमा गुड्छन् । पास भएका काठमाडौंमा’ पौडेलले मेरोअटोसँग भने ।

यसका अलवा, विद्युतीय सवारीको ब्याट्रीको अवस्था, क्षमता, पार्टपुर्जाको परिक्षण, ब्याट्रीको रेन्ज, पाँग्राको गुणस्तर, चार्जिङ पावर लगायतको परिक्षण गर्ने मापदन्ड नै बनेको छैन ।

यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहनप्रसाद भट्टराई पनि केन्द्रले परिक्षण गरेको आधारमा विद्युतीय सवारी संचालनमा आउने गरेको बताउँछन् । भट्टराइको भनाइलाई आधार मान्दै विभागका प्रवक्ता  तिर्थराज खनालले मापदन्ड निर्माणका सम्बन्धमा हालसम्म कुनै छलफल नभएको बताए ।

‘यसअघि जसरी विद्युतीय सवारी आयात भएका थिए, आज पनि उहि तरिकाले आयात भइरहेको छ । हालसम्म  मापदन्ड निर्माण गर्नैका लागि कुनै निकायसँग छलफल भएको छैन । नत अध्ययनको प्रयास गरिएको छ । विभागबाट तत्काल मापदन्ड बन्ने संभावना पनि छैन’ खनालले मेरोअटोसँग भने ।

मापदन्ड बनाउने योजना 

पछिल्लो समय, नेपालमा विद्युतीय सवारीको व्यापार ह्वात्तै बढेको छ । पर्यावरणीय सन्तुलनको हिसाबमा उत्कृष्ट मानिएको विद्युतीय कार, मोटरसाइकल, स्कुटर, भ्यान सडकमा फाट्टफुट्ट देखिन थालेका छन् । विभागको तथ्यांक अनुसार करिब चार वर्षको अन्तरालमा तीन हजार युनिट तीन पाँग्रे, करिब चार सय युनिट विद्युतीय कार, जिप भ्यान तथा ८ ओटा विद्युतीय बस नेपाल भित्रिएका छन् ।

सरकारले साझा यातायातालाई तीन सय विद्युतीय बस ल्याउनकै लागि बजेट उपलब्ध गराएको छ । साथै, नेपालमा सवारी बिक्री गर्दै आएका अधिकांश कम्पनीले पछिल्लो समय विद्युतीय कार, बाइक, स्कुटर ल्याइरहेका छन ।

भेइकल फिटनेस सेन्टरले हाल, मासिक पाँचओटासम्म विद्युतीय सवारी परिक्षण गर्दै आएको जानकारी दिएको छ  । परिक्षणमा आउने विद्युतीय  सवारीको मात्रा क्रमिक रुपमा बढ्दै गएको केन्द्र बताउँछ ।

यस्तोमा सवारीको अवस्था, दर्ता, गुणस्तर लगायतका पक्षको नियमन, अध्ययन तथा परिक्षण गर्ने मापदन्ड तय भएको छैन । नत  निकाय नै निर्माण हुन सकेको छ ।

मात्रै रोड परिक्षण गरिएको आधारमा सवारी संचालनमा आउँदा दुर्घटना निम्तने संभावना उत्तिकै रहेको छ । विभाग स्वयंम, थुप्रै विद्युतीय सवारी बिना दर्ता, बिना नम्बरप्लेट संचालनामा रहेको स्विकार गर्छ ।

महानगरिय ट्राफिक महाशाखाले दर्ता नभएका विद्युतीय सवारी दुर्घटनामा परे समस्या निम्तने भन्दै दर्ता तथा परिक्षण भएका विद्युतयि सवारी मात्रै संचालनमा ल्याउन जोड दिदै आएको भएपनि पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन ।

हालसम्म मापदन्डको आवश्यक नभएको भन्दै आवश्यक भए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमावली निर्माण प्रक्रिया अगाडि बढाउने खनाल बताउाछन् । सवारी दर्ताको प्रक्रियालाई जोड दिने भन्दै विभाग स्वंयमले तत्काल कुनै मापदन्ड निर्माण नगर्ने खनालले दोहोर्याए ।


Back_to_top