चिसोमा ईभीको रेन्ज ३२ प्रतिशतसम्मले कम, कुन मोडलको सबैभन्दा कमजोर

काठमाडौं । ब्याट्री इलेक्ट्रीक भेहिकलको रेन्ज धेरै चिसो र धेरै तातो मौसममा घट्ने कुरा चर्चा हुने गरेकै विषय हो । तर, एउटा परिक्षणले ३२ प्रतिशतसम्म घटेको देखाएको हो ।

हालै मात्र युरोपियन देश नर्वेमा गरिएको २३ वटा मोडलको रेन्ज टेस्टमा विश्वका लिडिङ ईभी कम्पनीका चल्तीका मोडलमा ६ देखि ३२ प्रतिशतसम्म रेन्ज घटेको हो ।

उक्त परिक्षण भएको नर्वेको चिसो ठाँउमा माइनस २ देखि १० प्रतिशतसम्म चिसो थियो । विन्टर इफिसीयन्सी टेस्टमा विश्वका ठूला उत्पादकहरुले उत्पादन गरेका विद्युतीय कार सहभागि थिए ।

उक्त टेष्टमा चिनियाँ कम्पनी ह्युमन होरीजनको हाईफी जेड मोडलको पर्फमेन्स सबैभन्दा राम्रो देखिएको हो । हाइफी जेडको डब्लुएलटीपी रेन्ज र चिसो मौसममा गरिएको परिक्षणमा जम्मा ३३.४७ किलोमिटर मात्रै फरक आएको थियो । डब्लुएलटीपी रेन्ज अनुसार यसले सिंगल चार्जमा ५५५ किलोमिटर दिनु पर्नेमा नर्वेको चिसोमा ५२२ किलोमिटर रेन्ज पाइएको हो ।

दोस्रो स्थानमा बीएमडब्लू आई-५ पर्न सफल भयो । यसको रेन्ज १२.२ प्रतिशतले कम पाइयो । डब्लुएलटीपी रेन्ज ५०५ किलोमिटर रहेको कारले परिक्षणमा ४४३ किलोमिटर रेन्ज दिएको थियो ।

त्यस्तै किया ईभी–९ को १२.५ प्रतिशतले रेन्ज कम आएको छ । एक्सपेङ जी–९ को पनि १२.५, नियो इएल–६ को १३.८ प्रतिशत मर्सिडिज इक्यूइ ३५० को १८.७ प्रतिशतले रेन्ज कम आएको हो ।

बीवाइडी डल्फिनको २०.६ प्रतिशत, एमजी–४ ट्रफी इआरको २३.२ प्रतिशत, हुन्डाई कोनाको २४.८ प्रतिशत, निसान आरियाको २५.८ प्रतिशत र टेस्ला मोडल–३ को २९.९ प्रतिशतले डब्लुएलटीपी रेन्जभन्दा कम आएको हो ।

सबैभन्दा बढि चिसोले रेन्ज कम भएको युरोपियन र जापनीज ब्राण्ड हुन् । युरोपीयन ब्राण्ड भल्भो सी–४० को रेन्ज ३०.९ प्रतिशतले घटेको छ । यसको डब्लुएलटीपी रेन्ज ५७२ किलोमिटर रहेकोमा १७७ किलोमिटरले कम ३९५ किलोमिटर मात्र पाइएको थियो ।

त्यस्तै टोयोटा बीजेडफोरएक्सले ४६० डब्लुएलटीपी रेन्जमा ३१.८ प्रतिशतले कम भएर ३१३.५ किलोमिटर मात्र रेन्ज दिएको थियो ।

सबैभन्दा धेरै फक्सवागेनको आईडी-७ को ३१.९ प्रतिशतले रेन्जमा गिरावट आएको छ । फक्सवागेन आईडी-७ को डब्लुएलटीपी रेन्ज ६०८ किलोमिटर रहेकोमा नर्वेमा गरिएको परिक्षणमा ४१४ किलोमिटरको मात्र रेन्ज पाइएको हो । यो इभीको ३१.९ प्रतिशत अर्थात १९४ किलोमिटरको रेन्ज फरक देखिएको हो ।

हाईफीको पफर्मेन्स राम्रो हुनुको कारण

संघाइ वेस कम्पनी हाईफीमा चिसोको कारण उत्पन्न हुने समस्या कम देखिनसुमा यसमा प्रयोग भएको इफिसीयन्ट थर्मल मेनेजमेन्टको कारणले हो । कम्पनीले आफै विकास गरेको हिटपम्प एचभीएसी इन्टेलिजेन्ट इपावर थर्मल मेनेजमेन्ट सिस्टमले ब्याट्रीलाई उपयुक्त तापक्रममा राख्ने गर्छ ।

हाइफीजेड चलाउँदा ब्याट्रीको तापक्रम मात्र नभई क्याविनको तापक्रम समेत राम्रो थियो । जुन नर्वे जस्तो चिसो मौसमको लागि गाडी र चालक दुबैलाई एकदमै आवश्यक मानिन्छ ।

ह्युमन होराइजनले हाइफी ब्राण्डका प्रिमियम इलेक्ट्रीक भेहिकल बनाउँदै आएको छ । गत वर्षबाट युरोपियन बजारमा बिक्री भइरहेको छ । कम्पनीले जर्मनीको म्युनिख, नर्वेको ओस्लोमा हाइफी हवको स्थापना गरेको छ । कम्पनीले हाइफी जेड, हाइफी एक्स तथा हाइफी वाई क्रसओभर जस्ता मोडल बिक्री गर्दै आएको छ ।


Back_to_top