बीवाइडीको ईभी किन्नेले चढिरहेको पुरानो कार तत्काल बिक्री गर्न सक्ने

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले आफ्नो विद्युतीय कार किन्ने ग्राहकले चढी रहेको पुरानो गाडी बिक्री गर्न सहज बनाएको छ । कम्पनीले विभिन्न रि-कन्डिसन हाउससँगको सहकार्यमा पुराना कारको तत्काल मूलयाङक गर्ने सुविधा प्रदान गरेको हो ।

‘ग्राहकलाई गाडी बिक्री कहाँ लगेर गर्ने भन्ने झन्झट नहोस् भनेर चारवटा रिकन्डिसन हाउसहरुसँग सम्झौता गरेका छौं । यसले बीवाइडीको नयाँ गाडी किन्ने ग्राहकलाई पुरानो गाडी बिक्री गर्ने तनाव हुँदैन’, साइमेक्स इंक स्रोतले मेरोअटोसँग भन्यो ।

साइमेक्सले साझेदारी गरेको मध्ये एक कम्पनी हाम्रो अटोमोवाइल प्रालि हो । विगत ११ वर्षदेखि रिकन्डिसन कारको ब्यापारमा रहेको हाम्रो अटोमोवाइलले पुराना गाडीको उचित मूल्य दिएर खरिद गर्ने जनाएको छ ।

‘हामी बीवाइडीको इलेक्ट्रीक किन्दा बिक्री गर्नु पर्ने कुनै पुरानो गाडी छ भने त्यसको मूल्याङ्क स्पटमा नै गर्छौ । त्यसको लागि गाडीको शोरुममा नै हाम्रो प्रतिनिधि बसेका हुन्छन् । जो कोहीले ती प्रतिनिधिलाई देखाएर आफ्नो गाडीको राम्रो मूल्याङ्क पाउन सक्नुहुन्छ’, हाम्रो अटोमोवाइलका प्रबन्ध निर्देशक कुमार चिमोरियाले मेरोअटोसँग भने ।

विद्युतीय कारको क्रेज बढेसँगै आफ्नो पुराना पेट्रोल कार बिक्री गरेर ईभी किन्ने ग्राहक बढ्दै गएको बताउँदै चिमोरिया भन्छन्, ‘रि-कन्डिसनमा आएर कार किन्नेहरु बिस्तारै बढ्दै गएका छन् । त्यसैले पनि हामीहरुले पुराना कार सहजै खरिद गरिरहेका छौं ।’

हाम्रो अटोमोवाइलले दिने मूल्याङ्कन सधैं उत्कृष्ट रहने दावी उनले गरे । साथै, अहिले एकाध विद्युतीय कार पनि रिकन्डिसनमा आउन थालेको र त्यसको लागि कसरी काम गर्ने भनेर आफुहरु लागि परेको चिमोरियाको भनाइ छ ।

‘अहिले केही ब्राण्डका ईभीहरु सेकेन्ड ह्याण्ड बजारमा आएका छन् । ती ग्राहक पनि बीवाइडीको ईभी नै किन्न आफुसँग भएको ईभी बिक्री गर्न लागेको भन्छन् । त्यसैले हामीले राम्रो ब्राण्डसँग जोडिएर काम सुरु गरेका हौं’, उनले भने ।

सेकेन्ड ह्याण्ड ईभीको खरिद बिक्री गर्दा गुडेको किलोमिटर, वारेन्टी अवधि मात्रै नहेरेर ब्याट्री हेल्थ चेक पनि गर्ने गरेको उनको भनाइ छ । यसले बिक्री गर्ने र किन्ने दुबैलाई ढुक्क हुने अवस्था सृजना हुन्छ ।

सेकेन्ड ह्याण्ड बजारमा गाडी किन्नेलाई पनि आफुहरुले विभिन्न कम्पनीसँग साझेदारी गरेर कर्जा सेवा उपलब्ध गराउँदै आएको चिमोरिया बताउँछन् । उनका अनुसार अहिले हुलास फिन र एमएडब्लू इन्भेष्टमेन्ट जस्ता कम्पनीले पुराना गाडीमा कर्जा दिदै आएका छन् ।

हटकेक बनिरहेका छन् डल्फीन र एटो-३

बीवाइडीले नेपाली बजारमा भ्यानदेखि सेडान कारसम्म उपलब्ध गराएको छ । यद्यपि, पछिल्ला दुई मोडल डल्फीन र एटो-३ अहिले अटोमोवाइल बजारकै हटकेक मोडल हुन् ।

कम्पनीले यी मोडलमा दिएको वारेन्टी, एक्सचेन्जमा बनाएको साझेदारी र पूर्वाधारमा बढाउँदै लगेको लगानीले देशकै सबैभन्दा ठूलो इलेक्ट्रीक कार ब्राण्ड बन्ने बाटो पच्छाई रहेको छ ।


Back_to_top