अब बाइक र स्कुटरधनीले वार्षिक २०० अतिरिक्त कर तिर्नुपर्ने !

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६देखि दुईपाङग्रे सवारी (मोटरसाइकल तथा स्कुटर)मा प्रदूषण कर लगाउने भएको छ । प्रति मोटरसाइलक वार्षिक २ सय रुपैयाँ प्रदूषण कार लिने प्रस्ताव यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थमन्त्रालय पठाएको छ । 

उक्त कर नयाँ दर्ता तथा वार्षिक नविकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शिर्षक थपेर यस्तो कर लिन लागेको हो । 

बजेट निमार्णको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदुषण कर संकलन गर्न सकिने गरी अर्थमन्त्रालयमा प्रस्ताव गरेको विभागले जनाएको छ । विभागले गरेको प्रस्ताव अर्थमन्त्रालयले स्वीकृति गर्दै बजेटमा  समावेश गरे नयाँ आर्थिक वर्षदेखि मोटरसाइकल दर्ता तथा नविकरण गर्दा अनिर्वाय रुपमा मोटरसाइकल प्रयोगकर्ताले प्रदूषण कर तिर्नुपर्ने छ ।  

विभागले सबै प्रकारका मोटरसाइकल प्रयोग कर्तासँग समान रुपमा प्रदुषण कर संकलन गर्ने तयारीसहित अर्थमन्त्रालयमा प्रस्ताव गरेको जनाएको छ । 

विभागको तथ्यांक अनुसार हालसम्म देशभर २४ लाखभन्दा बढी मोटरसाइकल दर्ता भएका छन् । आर्थिक वर्ष २०७३÷०७४ मा मात्रै देशभर तीन लाख ५४ हजार भन्दा बढी मोटरसाइकल थपिएको थियो । 

चालू आवको सात महिनामै एक लाख ७७ हजार भन्दा बढी मोटरसाइकल थपिएका छन् । विभागका अनुसार २०७४÷०७५ को माघ मसान्तसम्ममा देशभर २३ लाख ६६ हजार भन्दा बढी मोटरसाइकल दर्ता भइसकेका छन् । अर्थले स्वीकृती दिए सरकारले वार्षिक ५० करोड भन्दा बढी राजस्व संकलन गर्न सक्छ । 

अब थप हुने प्रदुषण कर बाहेक पनि मोटरसाइकल प्रयोग कर्ताले सडक मर्मत तथा सम्भार दस्तुर र सवारी साधन करको नाममा यातायात व्यवस्था विभागले कर संकलन गर्दै आएको छ । 

मोटरसाइकल खरिद गर्दा इन्जिन क्षमताको आधरमा सडक निर्माण तथा सम्भार कर तिर्नुपर्ने सरकारी नियम छ । सडक निर्माण तथा सम्भार कर भने वर्षिक रुपमा तिर्नुपदैन् । यो शिर्षकको कर खरिद गर्दा एक पटक तिरे पुग्छ ।


Back_to_top