काठमाडौं । जिली मोटर्सको इलेक्ट्रीक ब्राण्ड जिकरले ‘गोल्डन ब्रिक ब्याट्री’ प्रयोग सुरु गरेको छ । चीनमा निकै आक्रमक बजार बिस्तारमा लागेको जिली ग्रुपको नयाँ ब्याट्री रेन्ज र तिब्र चार्जिङ क्षमताको कारण चर्चा भएको हो ।
कम्पनीले उक्त ब्याट्रीलाई आफ्नो नयाँ मोडल ‘७-एक्स’मा प्रयोग गरेको छ । केबल ९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने गोल्डन ब्रिक ब्याट्री रेन्जको मामलामा पनि अब्बल देखिएको छ ।
यसमा लिथियम आइरन फस्फेट (एलएफपी) सेलहरु रहने छन् । कम्पनीले यसको मास प्रोडक्सन पनि सुरु गरिसकेको जनाएको छ । यो ब्याट्री ८३.७ प्रतिशत उपभोग हुने बताइएको छ । आजको दिनमा अन्य कम्पनीले उत्पादन गरेको एलएफपी ब्याट्री अधिकतम ६६ प्रतिशत मात्रै उपयोग हुँदै आएको छ ।
नयाँ ब्याट्री सुरक्षाको मामलामा पनि अब्बल रहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार नयाँ ‘गोल्डन ब्रिक ब्याट्री’ माइनस ४५ डिग्री सेल्सियस तापक्रममा ८ घन्टा राखेर परिक्षण गरेको जनाएको छ । साथै १००० डिग्री तातो आगोमा राखेर पनि यसलाई परिक्षण गरिएको जिकरको दावी छ ।
जीकरले ‘गोल्डन ब्रिक ब्याट्री’लाई ८०० भोल्ट आर्किटेक्चरमा बन्ने गाडीमा प्रयोग सुरु गरेको हो । नयाँ ब्याट्री चार्ज गर्न पनि उसले भी–३ ८०० किलोवाट क्षमताको डिसी फास्ट र भी–२ ६०० किलोवाट लिक्वीड कुल्ड फास्ट चार्जर पनि सार्वजनिक गरेको छ । भी–२ चार्जरले केबल ३ मिनेटमा ३०० किलोमिटर गुड्न पुग्ने रिचार्ज गर्ने जिकरको दावी छ ।