नयाँ दिल्ली । भारतमा चलिरहेको अटो एक्स्पो २०२३ मा थोरै पेट्रोलको प्रयोग गरेर चलाउन सकिन मोटरसाइकलहरु प्रदर्शनी भएका छन् । इथानलको प्रयोगबाट चल्ने यस्ता साधन पूर्ण पेट्रोलको तुलनामा ३५ प्रतिशतसम्म वातावरण मैत्री रहने बताइएको छ ।
चल्तीका ब्राण्ड हिरो, होन्डा, बजाज, टीभीएस, यामाहा र सुजुकीले जैविक इन्धनबाट चल्ने मोटरसाइकल प्रदर्शनीमा राखेक थिए । यी सबै कम्पनीका उत्पादनलाई सरकारले नै प्राथमिकता दिएर राखेको हो ।
बोटविरुवाको अवशेषबाट तयार हुने बायोफ्युल अल्कोहल र ग्यासोलिनयुक्त अक्सीजीनेट इन्धन हो । यसले एकै समयमा नन् टक्सीक र बायोग्रेडेबलको भुमिका निभाउँछ । साथै, जैविक इन्धनको प्रयोगले माइलेज बढाउन समेत सहयोग पुग्ने छ ।
यी मोटरसाइकल इथानल पाउन नसकेको खण्डमा पेट्रोलबाट मात्रै पनि चलाउन सकिन्छ । इथाइनलको मात्रा २० देखि ८५ प्रतिशतसम्म राखेर यस्ता मोटरसाइकल चलाउन सकिन्छ ।
वातावरणमा निकै सहयोगी मानिने यो जैविक इन्धनको प्रयोगले कार्बनडाइअक्साइडको असर कम गर्ने र नाइट्रोजन अक्साइडको प्रभावलाई कम गर्ने गर्छ ।
टीभीएस अपाचे आरटीआर २००

टीभीएस मोटर्सको अपाचे आरटीआर २०० एफआई ई १०० मा २०० सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २०.७ बीएची पावरका र ७००० आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा १२९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
होन्डा आरएक्सई ३००

होन्डाको चर्चित अफरोड मोटरसाइकल आरएक्सई ३०० को इथानल इन्धन प्रयोग भएको मोडलमा २९१.७ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । पूर्ण पेट्रोल इन्जिनको तुलनामा यसको पावर बढी रहेको छ । उक्त इन्जिनले अधिकतम २५.६ पीएस पावर र २७.४ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार यसमा २० देखि ८५ प्रतिशत इथानलको प्रयोग गर्न सकिन्छ ।
बजाज पल्सर एनएस १६०

बजाजको चर्चित मोटरसाइकल पल्सर एनएस १६० पनि अटो एक्स्पोमा जैविक इन्धनबाट चल्ने सवारीको रुपमा देखाइएको मोडल हो । कम्पनीले यसमा १६० सीसी क्षमताको इन्जिन दिएको छ । ८५ प्रतिशत इथानलको प्रयोग गरेर यो मोटरसाइकल चलाउन सकिन्छ । यसमा रहेको इन्जिनले अधिकतम १६.९ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ ।
यामाहा एफजेड १५
यामाहाले ब्राजिलमा विक्री गर्दै आएको एफजेड १५ मोडल पनि देखाइएको थियो । यसमा पनि २० देखि १०० प्रतिशतसम्म इथानलको प्रयोग गर्न सकिन्छ । यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले १२.५ पीएस पावर प्रदान गर्छ ।
सुजुकी जिक्सर २५० भीएफएफ
जापानी मोटरसाइकल उत्पादक सुजुकीले पनि जिक्सर २५० लाई जैविक इन्धनबाट चल्ने मोटरसाइकलको रुपमा ल्याएको छ । कम्पनीले यसको प्रोटोटाइप मात्रै अहिले देखाएको हो । यसमा पनि ८५ प्रतिशत इथानल मिसाउन सकिन्छ ।

हिरो ग्ल्यामर १२५
हिरोले विक्री गर्दै आएको ग्ल्यामर मोडललाई इथानलबाट चलाउन सकिने इन्जिनमा ल्याएको छ । सरकारले सन् २०२५ बाट भारतमा गाडी उत्पादन गर्ने ब्राण्डले अनिर्वाय २० प्रतिशत नयाँ इनर्जीबाट चल्ने साधन हुनु पर्ने भनेसँगै हिरोले ग्ल्यामरलाई फ्लेक्स फ्यूल इन्जिनमा ल्याएको हो ।


