चिनियाँसँग प्रतिस्पर्धा गर्न सस्ता ईभी बनाउँदै फोर्ड, पौने ३ खर्ब लगानी गर्ने घोषणा

काठमाडौं । अमेरिकी अटोमोबाइल कम्पनी फोर्डले चिनियाँ विद्युतीय सवारी साधन (ईभी)सँग प्रतिस्पर्धा गर्न आक्रमक रणनीतिका साथ अघि बढ्ने भएको छ ।

कम्पनीले आफ्नो उत्पादन योजनाको केन्द्रमा ईभीलाई राख्दै २ अर्ब अमेरिकी डलर (करिब २ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको हो ।

कम्पनीले कम्पनीले विगत ७० वर्षदेखि ग्यासबाट चल्ने गाडीहरू उत्पादन गर्दै केन्टकीस्थित आफ्नो लुइसभिल एसेम्ब्ली प्लाण्टलाई रुपान्तरण गरी अत्याधुनिक ईभी उत्पादन प्लाण्ट बनाउने भएको हो । कम्पनीले सो प्लाण्टको स्तरोन्नति र रुपान्तरणका लागि २ अर्ब डलर खर्चिने भएको हो ।

उक्त लगानीको मुख्य उद्देश्य भनेको चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सस्तो ईभी उत्पादन गर्नु, ईभीको लागत घटाउनु र नाफा बढाउनु रहेको कम्पनीको भनाइ छ । यसले बजारमा आफ्नो पकड बढ्ने कम्पनीको अपेक्षा छ ।

फोर्डले यस परियोजनालाई ‘युनिभर्सल प्लेटफर्म र उत्पादन प्रणाली’ को रूपमा बताएको छ । यस प्रणालीले एउटै प्लेटफर्मम विभिन्न प्रकारका ईभी मोडलहरू उत्पादन गर्न सहयोग पुर्याउनेछ ।

फोर्डका सीईओ जिम फार्लेले चीनमा उत्पादन हुने सस्ता ईभी प्रमुख चुनौती रहेको भन्दै लुइसभिल प्लाण्टमा कम लागतका ईभी उत्पादन गर्न लागिएको बताएका छन् ।

‘हामी चीनमा उत्पादन हुने सस्ता ईभीहरूको चुनौतीलाई गम्भीर रूपमा लिइरहेका छौं। हामीले ईभी बजारमा आफ्नो स्थान बनाइराख्न लागत घटाउन र उत्पादन प्रक्रियालाई सरल बनाउन आवश्यक छ। लुइसभिल प्लाण्टमा गरिएको यो ठूलो लगानी त्यसै दिशामा एक महत्त्वपूर्ण पाइला हो,’ उनले भनेका छन् ।

फोर्डले लुइसभिल एसेम्ब्ली प्लाण्टबाट पहिलो गाडीको रुपमा नयाँ मिडसाइज, चार ढोका भएको विद्युतीय पिकअप ट्रक उत्पपादन गर्ने भएको छ । उक्त गाडी सन् २०२७ सम्म बजारमा ल्याउने कम्पनीको लक्ष्य छ । यसको सुरुआती मूल्य करिब ३० हजार डलर हुने अनुमान गरिएको छ ।

फोर्डले आफ्नो परम्परागत गाडी उत्पादनमा रहेको निर्भरतालाई घटाउँदै आफूलाई ईभीमा केन्द्रित गर्ने योजना बनाएको छ । सो अनुसार सन् २०३० सम्म कुल गाडी बिक्रीको आधा हिस्सा ईभी पुर्याउने लक्ष्य राखेको छ ।


Back_to_top