काठमाडौं । अमेरिकी बजारमा सर्वाधिक लोकप्रिय पीकअप ट्रकहरु नेपालमा पनि राम्रो संख्यामा विक्री हुन थालेको छ । पीकअप सेग्मेन्टमा टोयोटा हाइलक्स निकै सफल र रुचाईएको मोडल हो । अहिले विस्तारै भारतीय उत्पादन र चिनियाँ उत्पादन नेपालमा बढ्दै गएका छन् ।
बेजिङ्ग अटोमोवाइल होल्डीङ कम्पनी (बीएआइसी ग्रुप) अन्तर्गतको कमर्सियल भेहिकल उत्पादन गर्ने फोटोन ब्राण्डका पीकअप ट्रकहरु नेपालमा विक्री हुँदै आएको छ । सन् १९९६ मा स्थापना भएको फोटोनले उत्पादन गर्ने कमर्शियल गाडी नेपालमा एमएडब्लू वृद्धिले विक्री वितरण गर्दै आएको छ । कम्पनीले केही दिनअघि नेपालमा विक्री सुरु गरेको पीकअप हामीले टेष्ट ड्राइभ गरेका थियौं ।

हामीले टेष्ट ड्राइभ गरेको पीकअप नेपालको लागि ब्राण्ड न्यू मोडल होइन । यसअघि नै विक्री हुँदै आएको टुनल्याण्ड इ भेरियन्टको अपग्रेड गरिएको मोडल हो । पहिला विक्री हुँदै आएको पीकअपको तुलनामा नयाँ टुनल्याण्ड इप्लसमा सुविधा र फिचर थप भएर मात्रै आएको हो ।
फोटोनले यस पीकअपमा १९९९ सीसी क्षमताको फोर सिलीण्डर टर्बो चार्ज्ड डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएममा १४८ हर्स पावर र १८०० देखि ३००० आरपीएममा ३२० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स उपलब्ध छ ।
सबै किसिमका भूभागमा चलायौं
हामीले टुनल्याण्ड इप्लसलाई उकालो, ओरालो, पक्की, कच्ची, पहाडी, तराई र हाइवेमा समेत चलाएर हेरेका थियौं । काठमाडौबाट कुनेखानी हुँदै हेटौंडा, चितवन, धादिङ, नुवाकोट हुँदै छहरे टोखाको बाटोबाट काठमाडौं आएका थियौं ।
यति फरक बाटाहरुमा चलाउँदा हामीले यसमा रहेको उत्कृष्ट अफरोड क्षमतालाई परिक्षण गर्न पायौं । फोर ह्वील ड्राइभ अप्सनसमेत रहेको कारण यसलाई लिएर हिलो बाटोमा प्रवेश गर्न पनि हामीलाई समस्या भएन । पुरै दुई दिनको टेष्ट ड्राइभमा हामीले यसको क्षमता अनुभुत गर्न पायौं ।

लामो यात्रामा गएको भएपनि यसमा दिइएको फोर ह्वीलको परिक्षण गर्न मुख्य सडक छोडेर भित्र प्रबेश गर्नु परेको थियो । अफरोड क्षमता परिक्षण गर्न कै लागि कुलेखानीको मार्खु सडकखण्ड र नुवाकोटको लिखु खोलाको किनारमा गाडी लानु परेको थियो ।
यसको ‘फोर ह्वील लो’ यति उत्कृष्ट छ कि जस्तो सुकै बाटोमा यसले उत्कृष्ट पर्फमेन्स दिन्छ । यसमा १६ इन्चको २४५/७० साइजको टायर र ग्राउण्ड क्लियरेन्स पीकअप सेग्मेन्टमै उत्कुष्ट २२० एमएम छ । टायर साइज अझै केही ठूलो भएको भए राम्रो देखिन्थ्यो ।
एसयूभीको अनुभव
यसको क्याविन कुनै पनि एसयूभी भन्दा कम छैन । साथै, फिचर पनि त्यतिकै लोडेड पाउन सकिन्छ । सामान्यतया पावर स्टेरिङ, पावर विन्डो, एयर कन्डिसन, हिटर, इन्टिग्रेटेड म्यूजीक सिस्टम, हाइट अनुसार एड्जस्ट गर्न मिल्ने स्टेरिङ ह्वीलले यसलाई एसयूभीकै फिल दिन्छ ।

साथै, इलेक्ट्रीक एड्जस्टेवल आउट साइड रियर भ्यू मिरर, पार्किङ सेन्सरसहितको रियर भ्यू क्यामेरा, टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, किलेस इन्ट्री, लेदर सीट, प्रशस्त स्टोरेज गर्न मिल्ने ठाँउको कारण यसको क्याविनमा बस्दा एसयूभीमै बसेको अनुभव हुन्छ ।
सुरक्षा फिचर, माइलेज र मूल्य
टुनल्याण्ड ईप्लसमा सुरक्षाका लागि अगाडिको दुबै साइडमा एयरव्याग, इलेक्ट्रोनीक ब्रेकफोर्स डिस्ट्रिब्यूसन सहितको एन्टीलक ब्रेकिङ सिस्टम, सिटवेल्ट तथा डोर ओप्पन वार्निङ सिस्टम, सेन्ट्रल लक र चाइल्ड सेफ्टी लक जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षा फिचरको कारण नै यसलाई हामीले ढुक्कसँग जस्तो सुकै बाटाहरुमा चलाउँने आँट गर्न सकेका थियौं । यो पीकअप चलाएपछि हामीले अनुभव गरेको अर्को महत्वपूर्ण कुरा माइलेज हो । करिब ५०० किलोमिटर पीकअप चलाउँदा यसको माइलेज उत्कृष्ट पाइयो ।

हाम्रो अनुभवमा यो पीकअपले जस्तो सुकै बाटोमा चलाएपनि प्रतिलिटर कम्तीमा १२ किलोमिटर भन्दा बढीको माइलेज दिन्छ । अहिलेको चर्को मूल्यको पेट्रोलियम हालेर पीकअप चलाउनु पर्ने अवस्थामा यसको प्रतिकिलोमिटर रनिङ कष्ट तुलनात्मक रुपमा कम रहेको छ ।
पाँच जना वयस्क व्यक्तिले यात्रा गर्न सकिने यो पीकअपको पछाडि रहेको क्यारियरमा १०५० किलोग्राम बरावरको सामान समेत ढुवानी गर्न मिल्ने छ । मानिस र सामान एकै पटक बोक्न मिल्ने भएको कारण यसलाई हाइड्रोपावर, निर्माण उद्योग, विभिन्न किसिमका प्रोजेक्ट र पहाडी बाटाहरुमा मानिस तथा सामान ओसारपरास गर्न उपयुक्त हुन्छ । कम्पनीले यो पीकअपको अधिकतम बिक्री मूल्य ६० लाख ९० हजार तोकेको छ ।
चीनको सरकारी कम्पनी
फोटोन चीन सरकारको लगानी भएको कम्पनी हो । हेवी डिउटी ट्रक, मिडियम डिउटी ट्रक, लाइट डिउटी ट्रक, भ्यान, पीकअप, मिनीट्रक, ठूला र साना बस उत्पादन गर्दै आएको छ ।
निरन्तर १४ वर्षदेखि चीनको कमर्शियल भेहिकल बजारमा अग्र स्थानमा फोटोन रहँदै आएको छ । फोटोनले इन्डिया, जापान, जर्मनी, ताइवान तथा फिलीपीन्स जस्ता देशहरुमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर राखेको छ ।

फोटोनले चीनमा उत्पादन गरेका गाडी अहिले विश्वका ११० भन्दा धेरै देशमा विक्री वितरण हुँदै आएको छ । फोटोनले जर्मन अटोमोवाइल कम्पनी ड्याम्लर एजी, इटालीयन अटोमोवाइल कम्पनी प्याजीयो र अमेरिकी इन्जिन निर्माता कम्पनी कमीन्ससँग साझेदारी गर्दै आएको छ ।
नेपाली बजारमा एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धि कमर्शियलले विक्री गर्दै आएको फोटोनका पीकअपहरुका साथै १९ सिट र १६ सिट क्षमताका माइक्रो भ्यान, एम्बुलेन्स, स्कुल भ्यान र लाइट कमर्सियल ट्रकहरु विक्री गर्दै आएको छ ।

