काठमाडौं । उल्टो मोटरसाइकल चलाएर कयौं किलोमिटर यात्रा गर्न सकिन्छभन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, महोत्तरीका जेभी पोखरेलले उल्टो मोटरसाइकल चलाएर ७० किलोमिटर बढी यात्रा गरेका छन् ।
उनले जेठ ९ गते महोत्तरीको बर्दिवासदेखि बीपी राजमार्ग हुँदै सिन्धुलीको कमलामाई नगरपालिका-३ को महाभारत क्षेत्रमा रहेको राष्ट्रिय कलाघरसम्म उल्टो मोटरसाइकल यात्रा गरेका हुन् ।
बर्दिवास नगरपालिका र त्यसका वडा नं. १ र ३ को साझेदारीमा, गौरीवास युथ क्लबको सहयोगमा कला, संस्कृति जगेर्ना र स्वास्थ्यको कामनासहित मधेश-महाभारत उल्टो मोटरसाइकल यात्रा भएको हो ।
उक्त मोटरसाइकल यात्रमा ‘मधेशबाट महाभारत सुस्वास्थ्यको सबैमा मुबारक’ भन्दै पोखरेलसहित २५ जना सहभागी थिए । पोखरेलले उल्टो मोटरसाइकल चलाए पनि अन्य सहभागीले भने सुल्टो नै चलाएका थिए ।
उल्टो मोटरसाइकल यात्राको उद्देश्य कला संस्कृतिलाई पर्यटनसँग जोडेर स्वस्थ वातावरण निर्माण गर्नुरहेको पोखरेलको भनाइ छ ।
उल्टो मोटरसाइकल यात्राका संयोजक सुवोध कट्टेलले अभियानले मौलिकता, पर्यटन र स्वस्थ जीवनशैलीलाई जोड्ने उद्देश्य राखेको बताए । ‘हामीले हाम्रै धरोहर, हाम्रै जीवनशैलीलाई फेरि एकपटक टाउकोमा बोकेर देखाउन खोजेका हौं,’ उनले भने ।
१० वर्षअघिदेखि उल्टो मोटरसाइकल कुदाउने प्रशिक्षण गरिरहेका पोखरेलले २०६३ सालमा शान्तिको कामनासहित मेची-महाकाली उल्टो साइकल यात्रा सम्पन्न गरेका थिए ।
पेशाले स्वास्थ्यकर्मी रहेका पोखरेलले उल्टो यात्रा गरेर गिनिज बुकमा नाम लेखाउन आफ्नो उद्देश्य रहेको बताएका छन् ।


