काठमाडौं । जुलाई २० अर्थात् हिजो शनिबार चेरी अटोमोवाइल कम्पनीको सहायक कम्पनी फुलविनले उत्पादन गरेको हाइब्रिड कारले २१०० किलोमिटरको दुरी पारेर गरेर रेकर्ड बनाएको छ । कम्पनीले बनाएको ठूलो साइजको एसयूभी ‘फुलविन टी-१०’ले विश्व रेकर्ड बनाएको हो ।
नयाँ हाइब्रिड मोडलले एक पटकको फुल चार्ज र फुल ट्याङ्की इन्धनको प्रयोगमा उक्त रेकर्ड बनाएको हो ।
इलेक्ट्रीकपछि हाइब्रिड टेक्नोलोजीमा पनि चिनियाँ उत्पादकहरु आक्रमक देखिएका छन् । जुलाई १२ मा अर्को ब्राण्ड बीवाइडीको सबब्राण्ड फ्याङ चाङ बाओले सबैभन्दा उच्च स्थान ५९८० मिटरमा प्लगइन हाइब्रिड गाडी बाओ–५ लगेर गिनीस वर्ल्ड रेकर्डमा नाम लेखाएको थियो ।
जुलाई १७ तारिखमा सुरु भएर २० तारिखमा सकिएको यात्रामा प्लगइन हाइब्रिड एसयूभी फुलविन टी१० ले यसअघिको १९ सय किलोमिटरको रेकर्डलाई ३ सय किलोमिटर बढि गुडेर तोडेकोे हो ।
चेरीको फुलविन टी-१० आगामी जुलाई २५ तारिखमा लन्च गर्ने तयारी गरिरहेको छ । यो गाडी चेरी टियो–९ र जेको जे–८ नामबाट पनि चिनियाँ लगायतका बजारमा उपलब्ध छ । यो एसयूभी ५ र ६ सिट अप्सनमा तथा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सनमा आउने अनुमान गरिएको छ ।
यस एसयूभीको लम्बाई ४८५०एमएम, चौडाई १९३० एमएम, उचाई १७१२ एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेस २८२० एमएमको रहेको छ ।
चेरीको कुनपेङ सुपर हाइब्रिड सी डीएम प्लगइन हाइब्रिड सिस्टम प्रयोग भएको फुलविन टी-१० को अधिकतम पावर ३७६ हर्सपावर र टर्क ६१० न्यूटन मिटर छ । यसमा १.५ लिटरको पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
कम्पनीले यसमा सीएटीएलले उत्पादन गरेको ३४.४६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसको सीएलटीसी इलेक्ट्रीक रेन्ज २१० किलोमिटर छ । उक्त ब्याट्रीलाई ७१ किलोवाटको फास्ट चार्जरले १८ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।

