काठमाडौं । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी जङसेनले चीनमा जारी चंगचेन मोटर एक्स्पोमा एउटा नयाँ स्ट्रीट फाइटर मोडल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो मोटरसाइकल झट्ट हेर्दा केटीएम २५० ड्यूकसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
पूर्णत युवा लक्षित ‘जङसेन G250R (जी-२५०-आर)’ मोटरसाइकलको आकर्षक कलरहरु, बडी डिजाइन, निकै स्पोर्टी ग्राफिक्स जस्ता कारण युवा राइडरहरुको रोजाईमा यो मोटरसाइकल पर्ने सहजै अनुमान लगाउन सकिन्छ । यसमा दिइएको अलोय ह्वील पनि विल्कुलै फरक कलरमा पाउन सकिन्छ ।

सिंगल-पड अल एलइडी हेडल्याम्पले यसलाई अलग देखाएको छ । साथमा अन्य सबै लाइटहरु एलइडी नै प्रयोग भएको छ । यसमा निकै ठूलो टिएफटी डिस्प्ले दिएको छ, जसमा कनेक्टीभिटी फिचर उपलब्ध रहेको छ । निकै स्पोर्टी डिजाइनमा दिइएको १०.५ लिटर क्षमताको इन्धन ट्याङकले मोटरसाइकललाई निकै आकर्षक देखाएको छ ।
निकै उत्कृष्ट देखिएको सिंगल पिस सिट, २४९ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन यसमा पाउन सकिन्छ । यसमा रहेको इन्जिनले अधिकतम २४.५ पीएस पावर र २१ एनएम टर्क प्रदान गर्छ ।
मोटरसाइकललाई आकर्षक र आरामदायी बनाउन अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध हुने यो मोटरसाइकलमा दुबै चक्कामा एबीएस फिचर दिइएको छ ।

