काठमाडौं । स्विजरल्यान्डको जेनेभामा युरोपको सबैभन्दा ठूलो ‘जेनेभा मोटर शो’को ८९ औं संस्करण आजबाट सुरु भएको छ । अटो शोमा विश्वका ९६ अटोमोबाइल्स कम्पनीले उत्पादन गरेका मोडलको प्रर्दशनी हुनेछ ।
आजबाट मार्च १७ सम्म चल्ने अटो शोमा भोल्भो, मर्सिडिज, फक्सवागेन, होन्डाजस्ता कम्पनीले आफ्नो इलेक्ट्रीक कार सार्बजनिक गर्ने तयारी गरेका छन् । मेलामा ८८ कम्पोनेन्ट उत्पादक कम्पनीहरुको समेत सहभागीता रहेको छ ।
गत वर्ष ६ लाख ६० हजार अवलोकनकर्ताले मेला अवलोकन गरेका थिए । यो वर्षभने सात लाखभन्दा बढी अवलोकनकर्ताले मेला हेर्ने अपेक्षा आयोजकले लिएको जनाएको छ । यो वर्ष अटोशोमा इलेक्ट्रीक तथा हाइब्रिड गाडी मुख्य आकर्षणको रुपमा आउने अनुमान गरिएको छ ।
अटो शोमा अडीले आफ्नो नयाँ एसयूभी फुलचार्जमा ५ सय किलोमिटरको रेन्ज प्रदान गर्ने ‘क्यु फोर ई–ट्रोन’को प्रोटोटाइप प्रदर्शन गर्ने भएको छ । यस्तै होन्डाले, आधा घन्टामा ८० प्रतिशत चार्ज हुने ई प्रोटोटाइप प्रदर्शन गर्ने भएको छ । यसले एक पटकको फुल चार्जमा २०० किलोमिटरको रेन्ज प्रदान गर्ने जनाइएको छ ।
जेनेभा मोटर शोमा भोल्भोले इलेक्ट्रीक पोलस्टार २ लन्च गर्ने तयारी गरेको छ । यसलाई एक पटकको फुलचार्जमा ४ सय ८० किलोमिटर चलाउन सकिने छ ।
अटोशोमा ९ सय भन्दा बढी गाडी प्रदर्शन हुने भएको छ भने ४८ ओटा नयाँ कारको वर्ल्ड प्रिमियर हुनेछ ।

