ईभीको ब्याट्री उत्पादन ३८ प्रतिशतले बढ्यो, कुनको बजार हिस्सा कति ?

काठमाडौं । सन् २०२५ को ५ महिना (जनवरी मे)मा विश्वव्यापी विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री उत्पादन ३८.५ प्रतिशतले बढेको छ । दक्षिण कोरियाली बजार रिसर्च कम्पनी ‘एसएनइ’ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

सार्वजनिक तथ्यांक अनुसार सन् २०२५ को ५ महिनामा विश्वव्यापी ईभीको कुल ब्याट्री प्रयोग ४०१.३ गेगावाट आवर पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १११.५ गेगावाट आवर धेरै हो । गत वर्ष यही अवधिमा २८९.५ गेगावाट आवर ब्याट्री प्रयोग भएको थियो ।

सन् २०२५ मा विद्युतीय सवारी साधनको उत्पादन बढेसँगै ब्याट्रीको प्रयोग पनि बढेको हो ।

विश्व ब्याट्री बजारमा चिनियाँ कम्पनीहरुकै वर्चश्व रहेका छ । जसमा सीएटीएलको बजार हिस्सा सबैभन्दा धेरै ३८.१ प्रतिशत हिस्सा ओगटेको हो । यो दोस्रो स्थानमा रहेको बीवाइडीकोभन्दा दोब्बर धेरै हो ।

५ महिनामा सीएटीएलको मात्रै १५२.७ गेगावाट आवर ब्याट्री प्रयोग भएको छ । गत वर्षको सोही अवधिको तुलनामा सीएटीएलको वृद्धिदर ४०.६ प्रतिशत रहेको छ । गत वर्ष ५ महिनामा सीएटीएलले १०८.६ गेगावाट आवर ब्याट्री उत्पादन तथा बिक्री गरेको थियो ।

दोस्रो स्थानमा अर्को चिनियाँ ब्राण्ड बीवाइडी छ । बीवाइडीले विश्व ब्याट्री बजारमा १७.४ प्रतिशत हिस्सा ओगटेको छ । उसले ५ महिनामा ७० गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गरेको हो । बीवाइडीको ब्याट्री प्रयोग अघिल्लो वर्षको सोही अवधिमा तुलनामा ५७.१ प्रतिशतले बढेको हो । गत वर्ष पहिलो ५ महिनामा यसको ४४.५ गिगावाट आवर मात्रै ब्याट्री बनाएको थियो ।

दक्षिण कोरियाली ब्राण्ड एलजी इनर्जीले १० प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा छ । एलजीले ३९.९ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशतको वृद्धि हो । एलजीले समग्र बजार हिस्सा भने गुमाएको छ ।

त्यस्तै, चौथो स्थानमा चीनकै सीएएलबी कम्पनी रहेको छ । यसको बजार हिस्सा ४.२ प्रतिशत रहेको छ । पाँचौं स्थानमा अर्को कोरियन ब्राण्ड ‘एसके अन’ छ । यसको बजार हिस्सा ४.२ प्रतिशत रहेको छ ।

ब्याट्री उत्पादनमा गोसन हाइटेक ३.४ प्रतिशत बजार हिस्सा सहित छैटौं स्थानमा रहँदा कोरियन सामसङ एसडीआई सातौं स्थानमा छ । सामसङको बजार हिस्सा ३.३ प्रतिशत छ ।

त्यस्तै आठौं स्थानमा जापानी ब्राण्ड पानासोनिक छ । यसको बजार हिस्सा २.९ प्रतिशत छ ।

नवौं र दशैं स्थानमा दुई चिनियाँ ब्राण्ड ईभीई इनर्जी र एसभोल्ट इनर्जी छन् । यिनको बजार हिस्सा क्रमशः २.७ र २.६ प्रतिशत छ । बाँकी अन्य ब्राण्डको बजार हिस्सा ११.२ प्रतिशत रहेको छ ।


Back_to_top