नेपालमा ग्राण्ड भिटाराको बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकी ग्राण्ड भिटाराको बुकिङ खुल्ला भएको छ । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले बुकिङ खुल्लाको घोषणा नगरेपनि उसका डिलरहरुले बुकिङ लिइरहेका छन् ।

सुरुमा नेपाली बजारमा दुई भेरियन्टमा ग्राण्ड भिटारा आउने कम्पनीले बताएको छ । बुकिङ लिँदा नै डिलरहरुले इन्टेलिजेन्ट हाइब्रिड इन्जिन र माइल्ड हाइब्रिड टेक्नोलोजी युक्त दुई भेरियन्टको बुकिङ खुल्ला गरेका हुन् ।

यी दुई भेरियन्टमा ९ लाख रुपैयाँ फरक पाउन सकिन्छ । कम्पनीले ल्याउने दुई भेरियन्ट मध्ये एउटा टु ह्वील ड्राइभ र अर्को फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको फोर ह्वील ड्राइभ भेरियन्टभन्दा टु ह्वील ड्राइभ भेरियन्ट महंगो रहेको छ ।

इन्टेलिजेन्ट हाइब्रिड टेक्नोलोजीमा आउने टु ह्वील ड्राइभ सिस्टम भएको एसयूभीको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै फोर ह्वील ड्राइभ माइल्ड हाइब्रिड भेरियन्टको मूल्य ८० लाख ९९ हजार तोकिएको छ । यी दुबै भेरियन्ट बुकिङ गर्न चाहने ग्राहकले २० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सक्नेछन् ।

टु ह्वील ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनिय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यसमा ई-सिभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

ग्राण्ड भिटाराको फोर ह्वील ड्राइभ भेरियन्टमा १.५ लिटर फोर सिलिण्डर, के१५सी डिउलजेट पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ, यही इन्जिन ब्रेजामा पनि उपलब्ध छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

यस्ता छन् अन्य फिचर

सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।

मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन सकिन्छ ।

टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ ।

ग्राण्ड भिटारामा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोड समेत छ । ड्राइभ कम्फर्टका लागि ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।


Back_to_top