कुन गाडीमा कति हुन्छ ग्राउन्ड क्लियरेन्स ?

काठमाडौं । नेपालमा गाडी किन्ने मानिसको सबैभन्दा धेरै चिन्ता गाडीको ग्राउन्ड क्लियरेन्समा हुने गर्छ । विश्वका अधिकांश देशमा गाडीको ग्राउन्ड क्लियरेन्सलाई महत्व दिइदैन ।

विशेषत आफ्नो आवश्यकता अनुसारको बडी डिजाइनमा कार छनोट गर्ने कारण सम्पन्न देशहरुमा गाडीको ग्राउन्ड क्लियरेन्सलाई महत्व दिइदैन । यदि कसैलाई सहरी क्षेत्रमा आरामदायी यात्रा गर्दै आफ्नो काम गर्नुछ भने, उसको रोजाइमा अहिले पनि प्रिमियम सेडान कार पर्न सक्छ ।

नेपालमा सेडान कारको बिक्री अत्यन्त न्यून भइसकेको छ । अहिले कुल कार बिक्रीको २ प्रतिशत हाराहारी मात्रै सेडान कारको बजार हिस्सा बाँकी छ । त्यसमा पनि प्रिमियम सेडान कारको बिक्री नगन्य छ । प्रिमियम सेडान कारमा मुस्किलले १५० देखि १६० एमएमसम्म ग्राउन्ड क्लियरेन्स हुन्छ । तर, कम्प्याक्ट सेडानहरुमा १७० एमएमसम्म ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

अहिले पनि नेपालमा झण्डै २० प्रतिशत बजार हिस्सा ह्याचव्याक कारको छ । यो सेग्मेन्टमा उपलब्ध कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएमदेखि १८० एमएमसम्म छन् । भारतमा बन्ने केही ह्याचब्याकमा १८० ग्राउन्ड क्लियरेन्स भनिएपनि लोड बसेपछि ती कारको ग्राउन्ड क्लियरेन्स १७० हाराहारी नै हुन्छन् । यी कारहरु सहरी बाटोलाई ध्यानमा राखेर बनाइएको कारण पनि धेरै ग्राउन्ड क्लियरेन्स नभएका हुन् ।

स्पोट्स कुप्पे कारहरु सबैभन्दा कम ग्राउन्ड क्लियरेन्स र पावर फुल इन्जिनको साथ आउने छन् । यी कारमा मुस्किलले १३५ देखि १४० एमएमको ग्राउन्ड क्लियरेन्स हुन्छ ।

अहिले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभी र सब फोर मिटर एसयूभीहरुमा १८५ देखि २१० एमएमसम्मको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । तर, पनि यी गाडीले सामान्य लाग्ने स्थानमा नै तल छुन्छन् । त्यसको मुख्य कारण गाडीको अप्रोच एङ्गल हो ।

त्यस्तै केही ठूला एसयूभी, अफरोड एसयूभी र लाइफ स्टाइल प्रोडक्टका रुपमा आएका साना फोर ह्वील ड्राइभ भएका एसयूभी छन् । ती एसयूभीमा २१० देखि २४० एमएमसम्मको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

यी गाडी जस्तो सुकै बाटोमा पनि समस्या रहित तरिकाले संचालन गर्न सकिन्छ । यस्ता गाडीहरु सबै किसिमको खराब बाटोहरुमा उत्कृष्ट पफर्मेन्स दिने क्षमताका हुन्छन् ।

नेपालमा एउटै गाडी किनेर सबै किसिमका काम त्यहि साधनले पुरा गर्नु पर्छ । तर, पहाडी कच्ची बाटोमा पनि सेडान र ह्याचव्याक लानु पर्छ भने जसरी ग्राहकले ग्राउन्ड क्लियरेन्सको कुरा गरेको सुनिन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने गाडी अग्लो हुँदैमा सबै किसिमका बाटोमा गुड्ने क्षमता राख्दैनन् ।

त्यसैले तपाईले गाडी छनोट गर्दा नै आफ्नो प्रयोग गर्ने स्थानको एकिन गरेर किनेको खण्डमा जतिसुकै ग्राउन्ड क्लियरेन्स भएपनि फरक पर्दैन । तपाईको यात्रा ढुक्कसँग हुन्छ ।


Back_to_top