हिरो एक्स्ट्रीम १६० आरमा सेग्मेन्ट कै उत्कृष्ट फिचर, मासिक किस्ता ९ हजार ७ सय

काठमाडौं । नेपाली उपभोक्ता माझ निकै सफल मानिएको १६० सीसी सेग्मेन्टमा पछिल्लो नयाँ मोडलको रुपमा हिरो एक्स्ट्रीम १६० आएको छ । कोभिड १९ को दोस्रो लहर सुरु हुनुभन्दा एक महिना अघि मात्रै नेपाल आएको यो मोटरसाइकल बीएस ६ इन्जिनमा उपलब्ध रहेको छ ।

हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम)ले यसको मूल्य निकै प्रतिस्पर्धी राखेर ल्याएको थियो । यामाहा एफजेडएस भि थ्री र सुजुकी जिक्सर १५० सँग सिधा प्रतिस्पर्धा गर्नेगरि बजारमा आएको यो मोटरसाइकलले कस्तो बजार पाउने छ भन्ने विषय अझै एकिन भएको छैन ।

बीएस ६ इन्जिनको कारण हिरोले यो दौडमा आफुलाई स्थापित गर्नु पर्ने चुनौति थपिएको छ । जसको कारण अन्यको तुलनामा यसको मूल्य करिब १० हजार रुपैयाँ बढी रहेको छ । यसलाई एनजीएमले ३ लाख ३९ हजार मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।

हिरो एक्स्ट्रीम १६० आर ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा लिएर किन्ने ग्राहकले मासिक किस्ता वापत ९ हजार ७६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीले ग्राहकलाई १४ प्रतिशत व्याजदरमा कर्जा रकम उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले सून्य प्रतिशत डाउन पेमेन्टको स्कीम पनि संचालन गर्दै आएको छ । त्यसको लागि ५० प्रतिशतभन्दा बढी डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ ।

भारतीय बजारमा जुन १, २०२० बाट विक्री सुरु भएको एक्स्ट्रीम १६० आर निकै राम्रो व्यापार गर्न सफल भइरको छ । हिरो मोटरसाइकलले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल हो । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको छ ।
हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।


Back_to_top