हुन्डाई प्यालिसेडमा के छ खास ? (भिडियोसहित)

काठमाडौं । हुन्डाईको प्रिमियम एसयूभी प्यालिसेड नेपालमा विक्री सुरु भएको छ । कोरियामा उत्पादन भएको प्यालिसेड हुन्डाईको अहिलेसम्मकै सर्वाधिक ठूलो र प्रिमियम एसयूभी हो ।

अमेरिकी बजारबाट विक्री सुरु भएको प्यालिसेड अहिले निकै चर्चामा रहेको एसयूभी हो । विशेषत ठूलो साइज, आधुनिक फिचर र लग्जरी फिचर यसको मुख्य आकर्षण मान्न सकिन्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री सुरु गरेको प्यालिसेड सन् २०१८ को लसएन्जलस अटो शोमार्फत पहिलो पटक देखिएको ७ सिट क्षमताको एसयूभी हो । यसको नाम पनि अमेरिकी सहर लसएन्जलसको प्यालिसेड भन्ने ठाँउबाट लिइएको हो ।

हुन्डाईले प्यालिसेडमा २.२ लिटरको डिजल इन्जिन दिइएको छ । उक्त इन्जिनले २०० पीएस पावर तथा ४४१ एनएम टर्क प्रदान गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

प्यालिसेडको लम्बाई ४ हजार ९८० एमएम, चौडाइ १ हजार ९७५ एमएम, उचाई १ हजार ७५० एमएम रहेको छ । यो एसयूभीको ह्वीलवेस २ हजार ९०० एमएम रहेको छ । आधुनिक फिचरहरुले सुसज्जित यो एसयूभी सुरक्षाका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको कम्पनीको दावी छ ।

नेपालमा प्यालिसेडको दुई भेरियन्ट जीएल र जीएलएक्स आएको छ । जीएल भेरियन्टको मूल्य १ करोड ९४ लाख ९६ हजार र जीएलएक्स भेरियन्टको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको हो ।


Back_to_top